सल्यानमा भेटिए क्षयरोगका १२४ बिरामी

जिल्लामा क्षयरोगका १२४ बिरामी पहिचान भएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म क्षयरोगका १२४ बिरामी पहिचान भएको हो।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्षमा दार्मा गाउँपालिकामा १०, कुमाख गाउँपालिकामा ३, बनगाड कुपिण्डे नगरपालिकामा १०, सिद्ध कुमाख गाउँपालिकामा ४, बागचौर नगरपालिकामा १५, छत्रेश्वरी गाउँपालिकामा २३, शारदा नगरपालिकामा १५, कालिमाटी गाउँपालिकामा ११, त्रिवेणी गाउँपालिकामा १३ र कपुरकोट गाउँपालिकामा २० गरी १२४ क्षयरोगी भेटिएका छन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १७६, आ.व. २०७८/०७९ मा २६१ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२४ क्षयरोगी पहिचान भएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा दार्मा गाउँपालिकामा ११, कुमाख गाउँपालिकामा ६, बनगाड कुपिण्डे नगरपालिकामा १२, सिद्ध कुमाख गाउँपालिकामा १२, बागचौर नगरपालिकामा ११, छत्रेश्वरी गाउँपालिकामा ३०, शारदा नगरपालिकामा ३३, कालिमाटी गाउँपालिकामा १७, त्रिवेणी गाउँपालिकामा १५ र कपुरकोट गाउँपालिकामा २९ क्षयरोगी पाइएका छन्।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा १३, बनगाड कुपिण्डे नगरपालिकामा २०, सिद्ध कुमाख गाउँपालिकामा १७, बागचौर नगरपालिकामा १९, छत्रेश्वरी गाउँपालिकामा ५१, शारदा नगरपालिकामा २७, कालिमाटी गाउँपालिकामा ३९, त्रिवेणी गाउँपालिकामा २२ र कपुरकोट गाउँपालिकामा ४० क्षयरोगी भेटिएका छन्।

चालु आर्थिक वर्ष सकिन अझै एक चौमासिक बाँकी रहेकाले क्षयरोगका बिरामीको सङ्ख्या बढ्न सक्ने उनले बताए। समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिस्कृत हुने डरले लुकाउने, चेतनाको कमी, पूरा समय औषधी सेवन नगर्नु जस्ता कारण क्षयरोगका बिरामीको संख्या बढेको डिसीको भनाइ छ।

नियमित क्षयरोगीका बिरामीले उपचार र औषधी सेवन गरेमा यो रोग निको हुने डिसीले बताए। उनले यो रोगबाट भयभीत हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुने बताए।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म किटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । दुई हप्ता वा बढी समयसम्म लगातार खोकी लागि रहनु क्षयरोगको मुख्य लक्षण रहेको डिसीको भनाइ छ । ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखा पर्नु  यो रोगको लक्षण रहेको उनले बताए। यदि कसैमा यस्ता लक्षण देखा परे स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न आग्रह गरे।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close