‘जनयुद्ध दिवस’लाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्रीको पुष्पकमल दाहालको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्ध’को जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनु भएको छ। २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले नेकपा माओवादीले नेतृत्व गरेको भएपनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने नेपालीहरूको साझा दिवसका रूपमा रहेको बताउनु भएको हो।
उहाँले ‘जनयुद्ध दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गर्नु भएको छ। “यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु,” उनले शुभकामना सन्देशमा भन्नु भएको छ।
नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाउँदै उहाँले साहस, वीरता र उत्सर्गको त्यस ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको बताउनु भएको छ।
“वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ,” प्रधानमन्त्री दाहालले भन्न्ुा भएको छ।
“महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र संस्थागत भएको छ। मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ,” उनले भनेका छन्, “सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ। यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ।”
नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाउँदै उहाँले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन हार्दिक अपिल गर्नुभएको छ।
देशको राजनीति र अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जनाउँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। उनले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न जनयुद्ध दिवसले सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा र प्रेरणा पैदा गरोस् भनी कामना गर्नु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close