जाजरकोट : दसैंका बेला दुर्गम क्षेत्रमा खाद्य अभाव देखिएको  अन्नपुर्ण दैनिकमा जाजरकोटबाट पत्रकार राजेन्द्र कार्कीले समाचार लेख्नुभएको छ ।  सरकारले ढुवानी गर्ने खाद्यान्नका डिपो रित्तै छन्। गाउँमा उत्पादन पनि कम भएपछि स्थानीयवासी दसैंमा छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।

 

गाउँमा भएको अन्न सकिएको र थप खाद्यान्न ढुवानी नभएपछि भोकभोकै पर्ने अवस्था आएको बारेकोट—२ का मनवीरे नेपालीले बताए। ‘बारेकोटमा रहेको खाद्यको डिपो रित्तै छ। नयाँ बाली पाकेको छैन’, नेपालीले भने, ‘गाउँमा किनेर खाने अन्न पनि छैन। हामीले यसपालि कसरी चाड मनाउने ?’

नलगाड नगरपालिका—१२ का मोहन बस्नेतले चाडवाड आए पनि घरमा अन्न नभएको सुनाए। ‘मकैबाली पनि त्यति राम्रो भएन। गाउँमा किनेर खाने अन्न पनि छैन’, बस्नेतले भने। चाडबाड आइरहेको र गाउँमा भएको अन्न सकिएपछि समस्या भएको उनको भनाइ छ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत अनुदानमा दुर्गममा चामल ढुवानी गर्नुपर्ने हो। तर, यसपटक दसैंअघि नपुुग्ने भएपछि स्थानीयवासी चिन्तित भएका हुन्। गाउँका बासिन्दा अधिकांश गरिबीको रेखामुनि छन्।

खाद्य उत्पादन न्यून हुने जाजरकोटमा खडेरीले हिउँदेबाली नसप्रिएको, नयाँ बाली नपाकेको र निजी क्षेत्रबाट लगिएको खाद्यान्न महँगो हुने तथा पर्याप्त नपाइने भएकाले डिपोकै भर पर्ने गर्छन्।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका चारवटा खाद्य डिपो र ६ वटा बिक्री केन्द्रमध्ये पजारुको घोगी खाद्य डिपो र जुनीचाँदेको बिक्री केन्द्रमा मात्र केही खाद्यान्न मौज्दात छ। अन्य ८ स्थानमा रहेका खाद्य डिपो र बिक्री केन्द्रमा एक गेडो पनि चामल छैन। ती सबै बिक्री केन्द्र र डिपोका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले टेन्डर आह्वान गरी स्वीकृत गरिसकेको भए पनि हालसम्म कसैले सम्झौता गरेका छैनन्।

टेन्डर असोज ५ गते स्वीकृत भइसकेको छ। १५ दिनभित्र सम्झौता गरेर ढुवानी गर्नुपर्ने प्रावधान राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले बताए। ‘ढिलो गरी टेन्डर स्वीकृत भएका कारण १९ गतेसम्म सम्झौता गर्ने म्याद छ। त्यही भएर दसैंअघि नै खाद्यान्न ढुवानी हुने सम्भावना निकै कम छ। दसैंअघि एकलट लिन सकेको भए राम्रै हुने थियो, तर सम्भावना देखिएन’, उनले भने।

खाद्य डिपो चौखामा ८ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। चौखामा चामल ढुवानीका लागि मष्टा ज्ञानकुञ्ज कन्ट्रक्सन एन्ड सप्लायर्स, एक हजार क्विन्टल कोटा तोकिएको बारेकोटको घाट डिपो र पाँच सय क्विन्टल कोटा तोकिएको काउलीमा मिलन चक्र सप्लायर्सको फर्मको टेन्डर स्वीकृति भएको छ। त्यस्तै ५ सय क्विन्टल चामलको कोटा रहेको दशेरा डिपो, टापुचौर, ताँगा, रुजुतरामा ढुवानीका लागि एमवी विल्डर्स एन्ड सप्लायर्सको टेन्डर स्वीकृति भएको छ।

एक हजार क्विन्टल कोटा रहेको पजारुको घोगी डिपोका लागि ए एन्ड ए कन्स्ट्रक्सन एन्ड सप्लायर्सको टेन्डर स्वीकृत भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। तर अहिलेसम्म कुनै पनि सप्लायर्स सम्झौताका लागि कार्यालय नआएको उनले बताए। जिल्ला सदरमुकाममा गत वर्षकै १५ सय क्विन्टल चामल मौज्दात छ।

सदरमुकाममा खासै बिक्री हुँदैन। ग्रामीण भेगमा रहेका बिक्री केन्द्र र डिपोमा चामलको माग धेरै छ। चामल खोसाखोस हुन्छ। चाडबाडको बेला चामल पु¥याउन कसैले पनि पहल नगरेको स्थानीयको गुनासो छ। गत वर्षहरूमा जिल्ला खाद्य व्यवस्था समितिले जिल्लामा मौज्दात रहेको खाद्यान्न गाउँमा पठाउन आवश्यक पहल गथ्र्यो यस पटक कसैले गरेन। टेन्डर स्वीकृति हुनै समय लाग्यो।

वर्षात् नरोकिएकाले चामल पनि बिग्रिन सक्ने भएकोले ढिलाइ गर्न खोजेको देखिन्छ बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाहले भने, ‘स्थानीय प्रशासन, पालिका र खाद्य व्यवस्था कार्यालयले ठेकेदारलाई तत्काल चामल ढुवानी गर्न पहल गर्नुपर्छ।’ जतिबेला आवश्यक पर्छ त्यतिबेला पो चामल पु¥याउनु प¥यो त हिउँदमा त नयाँ बाली पनि पाकिसक्छ। ढुवानी सहज भए निजी क्षेत्रका व्यापारीले पनि बिक्रीका लागि खाद्यान्न लगिहाल्छन्, जुनीचाँदे–८ का हिमाल घर्तीले भने दसैंै तिहारजस्तो चाडवाडमा सहुलियत दरको चामल गाउँमा पु¥याउन सरकारले पहल गर्नुपर्छ। जारकोटमा बर्दियाको राजापुर, बाँकेको नेपालगन्ज, दाङको तुल्सीपुर र सुर्खेतबाट चामल ढुवानी गर्ने गरिएको छ।

नगरले दियो विपन्नलाई खाद्यान्न

नलगाड नगरपालिकाले विपन्न वादी समुदाय र अन्य ५० परिवारलाई खाद्यान्न वितरण गरेको छ। एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको नगर उपप्रमुख सरिता सिंहले बताइन्। आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौ धौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको नगरउपप्रमुख सिंहले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close