तेलपानीमा कोल्ड स्टोर सञ्चालन गर्ने भण्डारीको प्रतिवद्धता

सुर्खेत। बराहताल गाउँपालिका–१ मा तेलपानीमा कोल्ड स्टोर सञ्चालन गर्ने अध्यक्ष पदका उम्मेदवार भिम भण्डारीले प्रतिवद्धता जनाउनु भएको छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार भण्डारीले आज तेलपानीको चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भयो । बराहताल गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाई बजारीकरणका लागि व्यवस्थित गर्नुका साथै मौसम अनुसार उत्पादित वस्तु भण्डारण गर्न तेलपानीमा कोल्ड स्टोर सञ्चालन गर्ने उम्मेदवार भण्डारीले प्रतिवद्धता जनाउनु भयो ।
विगतदेखि काम सम्पन्न हुन नसकेको रानिघाट तेलपानी भुरीगाउँ जोड्ने सडकलाई तत्काल विस्तार गर्नुका साथै रानीघाट पूलको निर्माण कार्य तत्काल सुचार गर्न पहल गर्ने उम्मेदवार भण्डारीले प्रतिवद्धता जनाउनु भयो ।

उहाले आफुसहित कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराएमा तेलापानी गाउँले विगतदेखि विकराल रुपमा खानेपानी समस्या झेल्दै आएकोले त्यसको दिगो समाधानका लागि सोलार पम्पिङ्गका माध्यमबाट स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भयो । साथै, अध्यक्ष पदका उम्मेदवार भण्डारीले विद्युत विस्तारको काम तत्काल सुचारु गर्न पहल गरिने बताउनु भयो ।

यस्तै, वडाअध्यक्ष पदका उम्मेदवार एसबहादुर दर्लामीले तेलपानी वडाबासीले झेल्दै आएको स्वास्थ्य समस्यालाई समाधानको लागि सर्वसुलभ स्वास्थ्य प्रणालीको नीति अवलम्वन गर्ने बताउनु भयो । उहाले स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु संचालन गरिने जानकारी दिनु भयो । चुनावी आमसभामा बोल्दै वडाअध्यक्ष पदका उम्मेदवार दर्लामीले वडाबाटै वृक्षारोपण नीतिलाई कार्यान्वयन गरिने बताउनु भयो ।

सडक सञ्जाल स्तरोन्नती गर्दा एक रुख बराबर २५ रुख वृक्षारोपण गर्नुपर्ने राष्ट्रिय निकुञ्जको नीति अनुरुप तेलपानीका स्थानीयलाई दायित्व नपर्नेगरी वडाकै तर्फबाट वृक्षारोपण गरिने बताए । साथै, दर्लामीले व्यवहारिक शिक्षामा जोड दिदैं सोही अनुसारको शैक्षिक पूर्वाधार निर्माण गरिने बताउनु भयो । चुनावी आमासभामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तिलक मस्र्यांदी, जिल्ला कार्य समिति सदस्य तुलावीर भारती लगायतका जिल्ला, प्रदेश र पालिकास्तरीय नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close