
लोटस मन्टेश्वरीले आफ्नो स्थापना दिवसका अवसरमा वादी सरोकार मञ्चद्वारा सञ्चालित संरक्षित वादी विद्यार्थीलाई खाद्य सामग्री वितरण गरेको छ ।
मोन्टेश्वरीले वीरेन्द्रनगर ८ सिमलचोकमा रहेको कार्यालयबाट वादी समुदायका बालबालिकालाई सहयोग हुने गरी खाद्य सामग्री वितरण गरेको हो । स्थापना दिवसमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले वादी सरोकार मञ्चको सरक्षणमा अध्ययन गरीरहेका विद्यार्थीको शैक्षिक उन्नयनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले खाद्य सामग्री वितरण गरिएको मोन्टेश्वरीकी प्रिन्सीपल कृष्णा शाहीले बताउनु भयो । उहाँले मोन्टेश्वरीको सामाजिक दायित्व भएको भन्दै वादी समुदायका २ जना बालबालिकालाई निःशुल्क पढाउने समेत बताउनु भयो ।
वादी समुदाय अझै पछाडि नै रहेकाले यो समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पहुँच पुर्याउन आवश्यक रहेको वादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले बताउनु भयो । उहाँले वादी समुदाय हरेक क्षेत्रमा पछाडी परेको भन्दै समुदायको हितका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
मोन्टेश्वरीले स्थापनाको ९ औं बार्षिक उत्सवको अवसरमा खाद्यन्न वितरण लगायतका कार्यक्रम गरेको छ ।