कालीकोटमा बालविवाह निषेधित वडा घोषणा

कालीकोट — शुभकालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।
गाउँपालिकाको नेतृत्वमा २ वडालाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं–८ का वडाध्यक्ष दीपराज महताराले बताउनस भयो ।उहाले ३ वर्षदेखि बालविवाहविरुद्धको अभियान सञ्चालन गरी बालविवाहलाई शून्यमा झार्न सफल भएको बताउनु भयो  ।
घोषणाअघि वडाका सबै बस्ती र टोलवासीले प्लेकार्ड र ब्यानर बोकेर पञ्चेबाजासहित बालबालिका, किशोरकिशोरीलगायतले मुग्राहा बजारको परिक्रमा गरेका थिए । बालविवाहले बालबालिकाको पठनपाठनमा अवरोध पुर्‍याएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताउनुभयो ।
पछिल्लो समयमा कालीकोटमा आमाबाबुले मगनी गरेर बाजागाजा बजाएर बालविवाह गर्ने चलनमा कमी आए पनि बालबालिकाले आफैं भागेर विवाह गर्ने चलन बढेको छ । महिला हिंसा अन्त्य गर्न पनि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताउनु भयो । उहाका अनुसार उमेर नपुगेर विवाह गर्दा बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । शुभकालिका–७ र ८ मा ३ वर्षअघिसम्म ५६ प्रतिशत रहेको बालविवाहलाई शून्यमा झारिएको उहाले जानकारी दिनु भयो  ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय तहहरूले पहल थालेपछि ५ वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने कालीकोटमा हाल घटेर २५ प्रतिशतमा झरेको छ । बालविवाहमध्ये बालबालिका आफैंले भागेर विवाह गर्ने दर घट्न नसकेको जिल्ला समन्वय समितिका सदस्य विर्षबहादुर शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close