सभापति रेग्मीको वडामा निर्वाचन हुने

सुर्खेत, भदौ २३ ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको वडा वीरेन्द्रनगर नगरपालिका–८ मा निर्वाचन हुने भएको छ । सभापति रेग्मी र इतर समूहले निर्वाचनका लागि क्रियाशिल सदस्यहरुसँग भेटघाट र चुनावी रणनीति बनाउन व्यस्त छन् । वडामा १६८ क्रियाशिल सदस्य छन् । कांग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण सार्वजनिक नगरेकाले केही क्रियाशिल सदस्यहरु थपिने संभावना छ ।
कांग्रेस सुर्खेतका सभापति रेग्मी रामचन्द्र पौडेल समूहका हुन् । उनको समूहले लालमति पन्तलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरिरहेको छ भने केन्द्रीय सभापति शेरबहादुर देउवा समूहबाट वडा सभापतिका लागि जयबहादुर थापालाई अघि सारिएको छ । केही समय अघिसम्म पौडेल समूहमा रहेका थापा अहिले देउवा समूहमा आएर चुनावी मैदानमा उत्रिएपछि रेग्मीको प्रभाव वडामा कमजोर बनेको छ । देउवा समूहले निर्वाचनका लागि सम्पर्क कार्यालयसमेत स्थापना गरेर चुनावी अभियानलाई तिब्र बनाएको छ ।
‘पार्टी सभापति रेग्मीका नजिक रहेकाहरु विचार समूह परिवर्तन गरेर आएपछि वडामा हामी बजमुत बनेका छौं,’ अघिल्लो महाधिवेशनमा वडा सभापतिमा चुनाव लडेका राजेश बुढाले भने, ‘अहिलेकै सदस्य संख्यालाई आधार मान्ने हो भने पनि हामी सहजै चुनाव जित्ने अवस्थामा छौं ।’
कांग्रेस नगरसभापति देवकुमार सुवेदीले आफ्नोे विचार समूहको उपस्थिति वडामा मजबूत रहेको बताए । ‘पार्टीको आन्तरिक जीवनलाई मजबुत गर्नका लागि पनि निर्वाचन आवश्यक छ,’ उनले भने, ‘सभापतिको वडा भएपछि हामीहरु मजबुत छौं, यहीँ उत्साहका साथ चुनावी मैदानमा उत्रिनुपर्छ ।’
कांग्रेस नेता कालिप्रसाद शाक्यले समायोजन भएर आएका पार्टी सदस्यहरुको विरोध गर्नेहरु पराजित र अपराधिक मानसिकताका भएको बताए । ‘पार्टी प्रवेश गराउँदा माला लगाउन जानेहरुनै अहिले विचार समूह नमिल्दा सदस्यताबाट रोक्ने खेल खेलिरहेका छन्,’ पार्टी सभापति रेग्मीले केन्द्रीय कार्यालयमा बसेको अनसनलाई सम्झदै शाक्यले भने, ‘समायोजन भएर आएकालाई रोक्नु भनेको पराजित र अपराजित मानसिकताको उपज हो ।’ उनले सभापतिकै वडामा आफुहरु मजबुत रहेको बताउँदै समायोजन भएर आउने नयाँ सदस्यले आफ्नो विचार समूहलाई थप बलियो बनाउने बताए ।
कांग्रेस नेता गोविन्द कोइरालाले १४ औं महाधिवेशनका लागि सुर्खेतमा वडादेखि जिल्लासम्म सशक्त विचार समूह निर्माण भएको बताए । ‘सुर्खेतको संस्थापन विचार समूहलाई पाखा लगाउनका लागि हाम्रो विचार समूह सशक्त बनेको छ,’ उनले भने, ‘सभापतिकै वडामा हाम्रो विचार समूह संख्यात्मक रुपमा अघाडी छ, अझै केही साथीहरु थपिदैं हुनुहुन्छ ।’
कांग्रेस नेता विष्णुबहादुर खड्काले पौडेल समूहले विभिन्न भ्रमहरु सृजना गरिरहेको आरोप लगाए । उनले आफ्नो समूहमा हुँदासम्म ठिक मान्ने र फरक विचार समूहमा जाने वित्तिकै विभिन्न भ्रमहरु सृजना गर्ने कामहरु भइरहेको बताउँदै त्यसको चिरफार गर्नुपर्ने आवश्यकता औल्याए ।
नगर सचिव उपेन्द्रबहादुर खड्काले कांग्रेस बढाउँदा आफूहरुलाई पार्टी सभापति रेग्मी र उनको विचार समूहबाट धम्की आएको बताए । ‘त्यसैले हामीले फरक विचार समूह रोजेका हौं,’ उनले भने, ‘हामी अहिले जुन विचार समूहमा छौं, त्यहाँ मजबुत छौं ।’ उनले वडा नं. १, ३, ६, ८ र ११ मा वडासभापतिले बैठकनै नराखेर फरक विचार समूहकालाई सदस्यता वितरणमै विभेद गरेकाले त्यो विवाद केन्द्रसम्म पुगेको बताए । ‘पार्टी सभापतिकै रोहवरमा यी वडामा देखिएको विवाद समाधान गरिदिन सदस्यता छानविन समितिलाई निवेदन दिएको जानकारीनै छ,’ उनले भने, ‘आफ्नो विचार समूह पराजित हुने अवस्था देखिएछि उनीहरुले विभिन्न्न अवरोध गर्ने गरेका छन् ।’
प्रदेश सभापति कर्णबहादुर बुढाले आफुहरुको विचार समूह वडा नं. ८ मा मात्रै नभएर जिल्लाभर विजयी हुने बताए । ‘हामी चुनाव जित्दैछौं, त्यसैले उनीहरुले विभिन्न जालझेल गरिरहेका छन्,’ उनले भने, ‘सभापतिको वडा मात्रै होइन्, केन्द्रीय सदस्यको वडामा पनि हामी मजबुत छौं ।’
डा. मनोहर ढकालले अघिल्लो महाधिवेशन भन्दा यो पटकको महाधिवेशनमा धेरै परिवर्तन आएको बताए । उनले यो पटक वडा तहदेखि जिल्लासम्म आफूहरुको विचार समूहको विजय सुनिश्चित रहेकाले फरक विचार समूह आत्तिएको बताए । ‘हामी चुनाव जित्दैछौं, त्यहीँ अनुसारको तयारीमा लागिरहेका छौं,’ उनले भने, ‘माहोल हाम्रो पक्षमा छ, ढुक्क भएर चुनावी अभियानमा सहभागी बनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close