कांग्रेस क्रियाशिल सदस्यता वितरणः वडामै निषेध गर्दा केन्द्रसम्म पुग्यो विवाद

सुर्खेत, भदौ १९ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनले अहिले सबैलाई धपक्कै छोएको छ । केही जिल्लाहरुमा १८ गते वडातहको निर्वाचन पनि सम्पन्न भइसकेको छ । कर्णालीका १० मध्ये पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भने अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लागिसकेको अवस्था छैन् । विशेष गरेर वीरेन्द्रनगरका चार वटा वडाका कारण अहिलेसम्म क्रियाशिल सदस्यता आउन नसकेको हो ।
वीरेन्द्रनगरका वडा नं. ३, ६, ८ र ११ नम्वर वडामा सदस्यता विवाद छ । यी वडाहरुमा रामचन्द्र पौडेल समूहका सभापति छन् । वडाबाट सदस्यता सिफारिसमा भएको जालझेल केन्द्रमा पुगेपछि त्यसको असर अहिले समग्र जिल्लामा परेको छ । यी चार वडाका सभापतिले बैठकनै नराखेर ‘आफ्ना मान्छे’लाई सदस्यता वितरण गर्दै सिफारिस गरेपछि वर्षौदेखि कांग्रेसमा क्रियाशिलहरुले क्षेत्रदेखि केन्द्रसम्म उजुरी दिएका थिए ।
वीरेन्द्रनगर–३ का निर्वाचित सचिव देवीराम बोहोराले एकतर्फी रुपमा सदस्यता वितरण गरिएपछि आफूहरु बाध्य भएर क्षेत्रदेखि केन्द्रसम्म सदस्यता माग्दै उजुरी गर्नुपरेको बताउँछन् । ‘मेरो वडामा मलाईनै जानकारी नदिएर सदस्यता सिफारिस गरियो, विधानले बैठकको आयोजना गरेर सर्वसम्मत सदस्यता सिफारिस गर्ने भनेको छ,’ उनले भने, ‘एकतर्फी रुपमा गरिएको सदस्यता वितरण विरुद्ध पार्टी सभापति कमलराज रेग्मीकै उपस्थितिमा सदस्यता छानविनका लागि खटिएका कल्याण गुरुङलाई पार्टी कार्यालयमै लिखित उजुरी दिएका थियौं ।’
वडा–सचिव बोहोराका अनुसार वडा सभापति शेरबहादुर थापाले घरघरमा माइन्युट पु¥याएर केहीलाई हस्ताक्षर गर्न लगाएको, केहीलाई उपभोक्ता समितिको माइन्युट हो भन्दै हस्ताक्षर गर्न लगाएको आरोप पनि लगाए । ‘वर्षौदेखि कांग्रेसमा सक्रिय भएकाहरुलाई सदस्यता दिन के हो टाउको दुखाई ?,’ उनले भने, ‘विचार समूह फरक हुने वित्तिकै निषेधको राजनीति गर्न भएन नि ?’ उनले विचार समूह फरक भएकै कारण केही क्रियाशिल सदस्यहरुको नवीकरण पनि नगरिएको बताए । ति मध्येका एक हुन्, कुमार महतारा । उनी वडा कार्यसमितिका सदस्य पनि छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको विचार समूहमा रहेका कारण नवीकरणसमेत सिफारिस वडा कार्यसमितिले गरेन ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सदस्यता विवादलाई महामन्त्री पूर्णबहादुर खड्कासँग जोड्ने गरेका छन् । ‘वर्षौदेखि कांग्रेसमा सक्रिय रहेकाहरुले सदस्यता पाएनौं भनेर सभापतिकै रोहवरमा हामीले निवेदन दिएका हौं, तर सदस्यताको विषय महामन्त्रीसँग जोड्ने काम गरियो,’ उनले भने, ‘यो महामन्त्री खड्कालाई बदनाम गर्ने खेल मात्रै हो ।’
सदस्यता विवाद देखिएका चार वडाका ३९५ जनाले सदस्यता माग्दै केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका छन् । वडा नं. ३ का १४८, वडा नं. ६ का ८७, वडा नं. ८ का २६ र वडा नं. ११ का १३४ जनाले क्रियाशिल सदस्यता माग्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् । त्यसको बोधार्थ नगर कार्यसमिति, प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमितिलाई पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close