आगामी चुनावमा एमालेसँग एक्लै लड्ने आँट कसैले गर्न सक्दैन– ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नुभयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नुभयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याउनु भयो । एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जनादेशबाट नभइ विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरू सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरूलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावीसमेत गर्नुभयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनुभयो । नुहाउँदा एक/दुई वटा केश झरेजस्तो केही मान्छेहरू आफैँ पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नुभयो, ‘पार्टी फुटेको होइन, केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन ।’

अध्यक्ष ओलीले माधव नेपालहरूलाई एक/दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरू हिँड्दै टाउँको मुडुलो नहुने बताउनुभयो । उहाँले भन्नु भयो, ‘नुहाउँदा एक/दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close