अब गुगल मेसेजले स्याटलाइट कनेक्टिभिटी सपोर्ट गर्ने, जहाँसुकैबाट च्याट गर्न सकिने

एन्ड्रोइड १५ सँगै गुगलले स्याटलाइट कनेक्टिभिटी फिचरमा निरन्तर काम गर्दै आएको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएको नयाँ जानकारी अनुसार यो फिचर गुगल मेसेजमा उपलब्ध हुने र प्रयोगकर्ताले जस्तोसुकै अवस्थामा जोसुकैसँग च्याट गर्न सक्नेछन् ।

नाइन टु फाइभ गुगलका अनुसार गुगल मेसेजको नयाँ एपीके इन्साइट्समा भविष्यमा आउने फिचरको सङ्केत देखिएको छ । हाल गुगलले प्लेस्टोरमा सार्वजनिक गरेको गुगल मेसेजको नयाँ भर्सनमा स्याटलाइट कनेक्टिभिटीको सङ्केत देखिएको हो । एपीके फाइललाई डिकम्पाइल (टुक्राउने) गर्दा त्यस्ता थुप्रै कोड भेटिएका छन्, जसमा सो फिचरको सङ्केत दिइएको छ ।

यही सङ्केतलाई मात्र आधार मान्ने हो भने तत्कालै गुगलले यो फिचर ल्याउँछ वा ल्याउँदैन यत्तिकै भन्न सकिंदैन । किनभने यसअघि पनि सङ्केत देखिएका केही फिचरहरू गुगलले ल्याएको छैन । तर, स्याटलाइट कनेक्टिभिटीको फिचरका सन्दर्भमा भने कम्पनीले ल्याउने सम्भावना अधिक भएको बताइएको छ ।

बेटा भर्सन २०२४०३२९-०१-आरसी०० ले गुगल मेसेजमा स्याटलाइट मेसेजिङले कसरी काम गर्छ भन्ने देखाइएको छ । उक्त इन्साइट्सका अनसुार स्याटलाइट कनेक्टिभिटी मार्फत मेसेज पठाउन बा पाउन प्रयोगकर्ता खुल्ला आकाशमुनि हुनुपर्नेछ । त्यस्तै यो फिचरबाट मेसेज पठाउँधा धेरै समय लाग्छ साथै फोटो र भिडिओ पठाउन सकिनेछैन । त्यस्तै यसलाई जस्तोसुकै अवस्थामा जोसुकैसँग च्याट गर्न प्रयोग गर्न सकिनेछ ।

यी माथि उल्लेख भएका दुई ओटा फिचरमा सीमितता छन् भने अन्तिमको अप्सनमा कुनै सीमितता राखिएको छैन । यो ‘गार्मिन’ नामक कम्पनीले ल्याएको ‘टु वे मेसेजिङ’सँग ठ्याक्कै मिल्छ । यो कम्पनीले पनि स्याटलाइट कनेक्टिभिटी फिचरका लागि गुगलसँग सहकार्य गरिरहेको छ ।

एप्पलले आईफोन १४ सँगै स्याटलाइट कनेक्टिभिटी फिचर सार्वजनिक गरेको थियो । उक्त फिचर प्रयोग गरी आपतकालीन अवस्थामा प्रयोगकर्ताले इमर्जेन्सी रेस्पोन्डर र रोडसाइड असिस्टेन्टसँग कनेक्ट गर्न र लोकेसन शेयर गर्न सक्छन् । तर, मेसेज पठाउन भने सक्दैनन् । इमर्जेन्सी कन्ट्याक्टमा राखिएका नम्बरलाई मात्र आपतकालीन मेसेज पठाउन सकिन्छ ।

एन्ड्रोइड १५ मा ‘अटो कनेक्ट टु स्याटलाइट’ (स्याटलाइटमा स्वतः कनेक्ट हुने) सिस्टम लेभल नोटिफिकेसनको डेमो देखाइएको थियो । त्यसमा ‘तपाईंले वाई-फाई वा मोबाइल डेटाबिनै मेसेज पाउन र पठाउन सक्नुहुन्छ’ लेखिएको थियो । स्टाटस बारमा स्याटलाइटको आइकन देखाइएको थियो भने स्क्रिनमा ‘ओपन मेसेज’ शर्टकट राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close