आफ्नै स्थापना दिवसमा आएनन् मन्त्री र सांसद ?

 

सुर्खेत्,२१ माघ । आफु रहेको संस्थाको स्थापना दिवस उक्त व्यक्तिको लागि विशेष मानिन्छ । तर कर्णाली प्रदेशसभाका सदस्य र केही मन्त्रीलाई त्यसको कुनै प्रवाह भएन ।

कर्णाली प्रदेशसभाले बुधबार आफ्नो स्थापना दिवसको अवसरमा निकै तामझामपूर्ण तयारीका साथ शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । तर उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य र मन्त्रीको उपस्थिति निकै न्यून देखियो ।

प्रदेशसभामा रहेका ४० जना सांसदमध्ये १३ जनामात्र उपस्थिति रहेका थिए । सांसद र मन्त्री आ¬फ्नै स्थापना दिवसका सहभागी नभएकोे यो पहिलो पटक भने होइन गत साल पनि ४० जना सांसद मध्ये १५ जना मात्र उपस्थित भएका थिए ।

बुधबारको कार्यक्रममा उपस्थिति हुनेमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, मन्त्रीहरु विमला केसी, नन्दसिंह बुढा, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का र अमृता शाहीको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सांसद, मन्त्री फेरिन भन्दा पनि जनताका दुःख फेरिन स्थायी सरकारको आवश्यकता रहेको बताए ।

‘प्रधानमन्त्री ओलीले सांसद, मन्त्री र पद फेर्नका लागि संविधानलाई नै कुल्चेर असंवैधानिक कदम चालेका छन्, प्रदेशमै पनि विभिन्न प्रयासहरु भएकै हुन्,’ मुख्यमन्त्री शाहीले भने, ‘यसले सरकार र पद त फेरिएला तर जनताका दुःख फेरिंदैनन् ।’

‘कठिन परिस्थीतिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र परिवर्तनमा पाइला चालेका छौं । जनता निराशा र हिनताबोध हुनुपर्ने अवस्था छैन,’मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकार स्थापना भएदेखि हालसम्म विभिन्न बाधा–व्यवधानका बीचमा पनि जनताको आशा अपेक्षालाई साकार पार्न हामी दृढताका साथ लागेका छौं ।’
स्थापनाकालमा जिल्ला समन्वयन समितिको सभाहलबाट प्रदेशको गतिविधि शुरु गरेको स्मरण गर्दै अहिले आफ्नै संरचना निर्माण गर्नेदेखि ठुलाठुला कामहरु गरेर मुख्य उपलब्धी हाँसिल गरेको उनको भनाई छ ।

स्थापना दिवसको अवसरमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका पुस्तिकाको समेत विमोचन गरेका छन् ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको औंल्याए । सबै जनाको सहकार्य, एकता र विकासप्रति जिम्मेवार भएमात्र विकास गर्न सकिने उनले बताए । प्रदेश प्रमुख कलौनीले यहाँको भौगोलिक, सामाजिक, आर्थिक अवस्था केन्द्रीत नीति तथा कार्यक्रम ल्याउनमा सरकारले विषेश ध्यान दिनुपर्नेमा जोड दिए ।

ऐतिहाँसिक जिम्मेवारी प्राप्त गरेपछि विभिन्न चुनौतीहरु थपिंदा पनि कानुन, संरचना, र प्रदेश सभालाई गतिशिल रुपमा अगाडी बढाइएको सभामुख राज बहादुर शाहीले बताए ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले विदेशमा लोकतन्त्र जनताका लागि जनताद्वारा जनताले शासन गर्ने भनिएपनि नेपालमा लोकतन्त्र नेकपाका लागि, नेकपाद्वारा नेकपालाई शासन गर्ने प्रणाली नेकपाले नै बनाएको भनी टिप्पणी गरे ।

नेता शाहीले शाब्दिक विकासको बाँसुरी बजार भजन गाउँदैमा मात्र समृद्ध प्रदेश नहुने व्यङ्ग्य गरे ।
स्थापनाकालदेखि हालसम्म कर्णाली प्रदेशसभाले ६ वटा अधिवेशन सम्पन्न गरेको छ । सातौं अधिवेशनसम्म आइपुग्दा प्रदेश सभाले ३६ वटा विधेयक सभाबाट पारित गरेर प्रमाणीकरण गरेको छ । हाल प्रदेशसभाका ६ वटा विधेयक विषयगत समितिमा रहेका छन् । भने ७ वटा विधेयक प्रदेश सभामा दर्ता भएका छन् ।

सातौँ अधिवेशन सुरु भए लगत्तै विषयगत समितिमा रहेका ६ वटा विधेयकहरू प्रदेश सभाबाट पारित हुने सभामुख राज बहादुर शाहीले बताए ।

। प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३३, नेपाली काङ्गे्रसका ६ र राप्रपाका १ गरी ४० सांसद छन् । जसमध्ये २४ जना प्रत्यक्ष निर्वाचित हुन भने १६ जना समानुपातिक रहेका छन् ।
प्रदेशसभाको पहिलो बैठक बसेको दिन २०७४ माघ २१ गतेलाई सचिवालयले स्थापना दिवसका रुपमा मनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close