
सुर्खेत,१८ माघ । सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके जिल्लाको खजुरा गाउँपालिका–८, स्थायी घर भई वीरेन्द्रनगरमा डेरा गरी बस्ने २८÷२८ वर्षीय सदाम खाँ र सब्बीर खाँ रहेका छन् ।
भारतीयमुलका दुई नेपालीले वीरेन्द्रनगर–४, एकता टोलमा लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेका हुन् ।
प्रहरीले उनीहरूका साथबाट ४७० मिलिग्राम लागु औषध ब्राउन सुगर, १७ ट्याब्लेट नाईट्राभेटाम, १७ हजार ८ सय ५० रुपैयाँसहित १ थान मोबाइल बरामद गरेको जनाएको छ । कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।