२८ वर्ष कान्छी सुन्दरी ज्याङ्मु र मुख्यमन्त्री शेरधन राईबीच कसरी जोडियो सम्बन्ध ?

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्न लागेको खबर बाहिरिएपछि यतिबेला निकै चर्चाको विषय बनिरहेको छ । प्रदेश राजधानी र नाम जुराएपछि मात्र विवाह गर्ने बचन गरेको राईले यही ११ माघमा मंगोल सुन्दरी ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैछन् ।

विवाह भन्दापनि शेरधन र ज्याङ्मुबीच देखिएको उमेर अन्तरको विषय यतिबेला बढी चर्चाको विषय छ । युवा संघकी पूर्वकेन्द्रीय सदस्य बालिका खड्कालाई यौन हिंसा गरेको आरोपसमेत लागेका शेरधन ज्याङ्मुसँग कसरी जोडिए भन्ने पनि कौतुहलको विषय सर्वत्र छ ।

हुनत ‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र शेरधनबीचको उमेर अन्तर २८ बर्ष छ । ४९ बर्षका शेरधन र २१ मा पाइला टेकेकी ज्याङ्मुबीच कसरी सम्बन्ध गाँसियो भन्ने सर्वत्र चासोको विषय छ ।

एक्शन इन्टरटेनमेन्ट नामक संस्थाले मिस मंगोल प्रतियोगिता आयोजना गर्ने गर्छ । यो संस्थाका संस्थापक हाल सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राई हुन ।

अन्नपूर्ण पोष्ट दैनिकमा मनोरन्जन विधामा करिब डेढ दशक कलम चलाएका अशोकले इभेन्ट डाइरेक्टर भएर प्रतियोगिताको सुरुवात गर्नु शेरधनका लागि फलिफाप बन्यो । अनि शेरधनलाई मिस मंगोल नेपाल-२०१८ को अथितिका रुपमा निम्त्याउनु ज्याङ्मुसँग सम्बन्ध स्थापित गर्ने प्रथम खुडकिलो बन्न पुगेको बताइन्छ ।

नेता योगेश भट्टराईसँग निकट मानिने ताप्लेजुङका अशोकप्यासी र शेरधनको सम्बन्ध पनि निकै सुमधुर छ । कार्यक्रमकै सिलसिलामा शेरधन-ज्याङ्मुबीच भेट भएपछि क्रमशः सम्बन्ध विस्तार भएको शुभेच्छुकहरु बताउने गर्छन ।

पुर्खौली घर संखुवासभाकी ज्याङ्मु  ‘मिस मंगोल नेपाल’को ताज जितेसँगै चर्चामा आएकी हुन् । शेरधन-ज्याङ्मु पहिलोपटक देखाभेट पनि मिस मंगोलकै कार्यक्रममा भएको र चिनजान भएको हो ।

जाङ्मुका साथीहरु भन्छन्, ‘प्रतियोगिताकै बेला शेरधनले जाङ्मुको बारेमा चासो लिएका थिए । तर, पछि दोस्रो भेटमा मात्र नजिकबाट बोल्ने अवसर पाएका थिए । त्यसपछि सम्बन्ध झाँगिदै गएको र प्रेममा परिणत भएको हो ।’

बाल्यकालदेखि नै प्रतिभाशाली जाङ्मु कार्यक्रम होस्ट पनि निकै राम्रो गर्छिन । उनी १३ वर्षकै उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिएकी थिइन। ‘मिस ई कलेज’, ‘मिस एसएलसी’लगायत विभिन्न ब्युटी प्याजेन्टमा पनि उनले सहभागिता जनाएकी थिइन ।

केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी ज्याङ्मु काठमाडौंमै बस्छिन । शेरधन काठमाडौं आउँदा दुईको भेट बाक्लै हुने गरेको थियो । प्रेमलाई उमेर पर्खाल बन्न सक्दैन भन्ने ज्वलन्त उदाहरणको पात्र बन्दै शेरधन-ज्याङ्मु जीवनको एउटै रथमा हिड्ने अन्तिम तयारीमा जुटिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close