आजबाट सबै टेलिभिजनमा आउने भयो आईपीएलको लाइभ

आजदेखि सबै टेलिभिजन वितरकहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को लाइभ उपलब्ध गराउने भएका छन् । क्लिन फिड (विज्ञापन रहीत) नीति लागु भएसँगै गत शनिबारदेखि अवरुद्ध आईपीएलको लाइभ बुधबारदेखि पुनः सुचारु हुने भएको हो ।

स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । उनले भने, ‘अस्थायी समाधानको रुपमा स्टार नेटवर्कका स्टार प्लस, स्टार गोल्ड र स्टार स्पोर्ट्स वान गरी तीन वटा च्यानल आजबाट सुनः सुचारु हुँदैछन् ।’

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसमा नियमितको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुने आचार्यको भनाई छ ।

‘यसमा च्यानल केही ढिलो आउने मात्र होइन, ब्याण्डविथ नपुगेको समयमा केही ल्याग हुने समस्या पनि आउन सक्छ,’ उनले भने । यस अघि स्टार नेटवर्ककै ३४ वटा च्यानल नेपालमा प्रसारण हुँदै आएका थिए ।

सबैभन्दा धेरै च्यानल भएको स्टार नेटवर्कले नेपालका लागि अन्य च्यानल समेत क्लिन फिडको रुपमा उपलब्ध गराउने तयारी थालेको छ । साथै जीटीभी र सोनीले समेत नेपालमा क्लिन फिड सहितको प्रसारण गर्ने प्रयास गरिरहेका छन् ।

मूख्य प्रदायकका विदेशी टेलिभिजन च्यानलहरु पुनः सुचारु हुने तयारीमा छन् । त्यसमा बीबीसीले क्लिन फिडका लागि समय माग गरेको छ ।

सीएनएन र कार्टुन नेटवर्क भने स्थायी रुपमै नेपालमा प्रसारण हुन नसक्ने अवस्था पैदा भएको छ । साथै धार्मिक च्यानलहरु, आजतक लगायतका भारतीय न्युज च्यानल पनि प्रसारण हुन नहुने केवल टेलिभिजन सेवा प्रदायकले बताएका छन् । जि न्युजले भने क्लिन फिड सहित प्रसारण पुनः सुचारु गरिसकेको छ ।

आजतकको एउटै च्यानल भएका कारण लागत धेरै पर्न जाने भएपछि पछाडि हटेको छ । त्यस्तै सीएनएनका समेत चार वटा च्यानल मात्रै छन् ।

भारतका लागि छुट्टै फिड बनाएको सीएनएनले नेपालमा समेत त्यसैलाई प्रसारण गर्दै आएको थियो । तर नेपालका लागि भने छुट्टै फिड दिन नसक्ने उसको भनाई छ । विज्ञापनको स्थानमा प्रोमो राख्न सक्ने गरी सरकारले लचकता देखाएपछि अवरुद्ध विदेशी च्यानलहरु पुनः सुचारु हुन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close