
गायनमा आधारित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ ।
सिजन–२ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कोचको रुपमा अनुबन्ध भएपछि गायिका गुरुङले आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गर्ने प्रतिक्रिया दिएकी छिन् ।
‘दि भ्वाइस अफ नेपाल’ लाई लक्ष्मण पौडेलले निर्देशन गर्नेछन् ।
अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ ।
एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ ।
शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् छन् ।
‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।
यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।
यसपटक राजु लामाले आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् कि ?
राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधैं नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’
आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजन र विज्ञापनदाताहरुबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
‘दि भ्वाइस अफ नेपाल’लाई ओप्पोले प्रस्तुत गर्नेछ ।
हिमालय टेलिभिजनका प्रमुख धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलले ‘दि भ्वाइस अफ नेपाल’का प्रायोजकसंग सम्झौता साझेदारी गरेका थिए ।
कार्यक्रममा बोल्दै हिमालय टेििभजनका प्रमुख धर्मराज भुषालले टेलिभिजनले दर्शकहरुलाई मनोरञ्जन दिन विश्वकै नम्बर १ रियालिटी शोका फ्रेन्चाइज ल्याइरहेको बताए ।
उनले, यो सिजनको ‘दि भ्वाइस अफ नेपाल’लाई गत वर्षको भन्दा उत्कृष्ट बनाएर प्रस्तुत गर्ने बताए ।