
संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदा नेपालले पनि पक्षमा मतदान गरेको छ । हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने विषयमा भएको मतदानमा नेपालले पक्षमा मत दिएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लगातारको सुझावपछि राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाएको हो ।
गत बुधबार भएको मतदानमा सहभागी भएका यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ देशले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका हुन् भने २५ मुलुकले हटाउन नहुने भन्दै विपक्षमा मतदान गरेका छन् ।
हटाउने पक्षमा नेपालसहित भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायतका मुलुकले मतदान गरेका थिए ।
यसको विपक्षमा भने चीन, अफगानिस्तान, पाकिस्तान, जापान, ब्राजिल, इराक, लिबिया, रुस, क्युबा, हंगेरीलगायतका मुलुकले मतदान गरेका थिए ।
मतदानमा पक्ष र विपक्षमा मत दिने देशहरु
हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाइए पनि वैधानिकता भने दिइएको होइन । हानिकारक लागुऔषधको सूचीबाट हटाइएपछि अब गाँजालाई औषधिजन्य गुण र वनस्पतिका रुपमा प्रयोग गर्न भने सकिने विषयमा वकालत भएको हो । यसबाट विभिन्न रोगको निदान र औषधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विश्वमा वैधानिक र अवैधानिक रुपमा गरी गाँजाको ठूलो कारोबार हुने गरेको छ । कोवेन बैंकले गरेको एउटा अध्ययनअनुसार सन् २०२५ सम्म चिकित्सकीय प्रयोग र रमाइलोका लागि समेत गरी करिब ३४ अर्ब अमेरिकी डलर बराबरको गाँजा खपत हुने अनुमान गरिएको छ ।
पछिल्लो समय गाँजालाई वैधानिकता दिने विषयमा नेपालमा बहस भइरहेका बेला राष्ट्रसंघले सो निर्णय गरेको छ ।