आज मात्रै उद्दार उडानमार्फत् आइपुगे ८४९ जना नेपाली

सोमबार (साउन २६)मा विभिन्न पाँच वायुसेवामार्फत थप ८४९ जनाको उद्दार उडान भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार साँझ ५ बजेसम्म भएको उक्त उडानबाट थप नेपाली स्वदेश भित्रिएका हुन्। सोमबार दिउँसोसम्ममा ४८ हजार ८३२ जना नेपाली उद्दार उडानबाट नेपाल फर्किएका थिए।

त्रिभुवन विमानस्थल कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना, दुबईबाट २३९ जना, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ जना, दोहाबाट १४९ जना र फ्लाई दुबाइले दुबईबाट १५४ जनालाई स्वदेश ल्याएका छन्।

यी बाहेक हिमालय एयरलान्यस कुन्मिङ कार्गो उडानका लागि गएको छ। यसका साथै सोमबार श्रीलंकन एयरलाइन्सले पनि काठमाडौंका लागि कार्गो उडान गरेको थियो।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार २७ साउन (मंगलबार)का लागि पनि ६ वटा अन्तर्राष्ट्रिय उडान तय भएको छ। उनका अनुसार सरकारबाट स्वीकृत भएका यी उडान गर्न प्राधिकरणले अनुमति दिएका आधारमा उडान तालिका सार्वजनिक भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसविच बुद्धिसागर लामिछानेका अनुसार सोमबारसम्म उडान गर्न नभ्याएका र तालिका परिवर्तन भएका वायुसेवाको उडान मंगलबार राखिएको हो। मंगलबार हुने उडानमा नेपालको हिमालय, युएईको इत्तिहाद र एयर अरेविया, कम्बोडियाको लान्मी एयरको एकएक तथा संयुक्त राष्ट्रसंघको अफगानस्थिानबाट दुई चार्टर्ड उडान रहेको छ।

लामिछानेका अनुसार आवश्यकताका आधारमा आकस्मिक उडान हुने भएकोले सरकारको स्वीकृतिमा थप उडान हुन सक्छ। उद्दार उडानमा भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको स्वीकृतिपछि थप उडानको तालिका आउन सक्ने जानकारी पनि लामिछानेले दिए।

सीसीएमसीका संयोजक महेन्द्रबहादुर गुरागाईका अनुसार हरेक उडानको विवरण आउनासाथ तथ्यांक अपडेट गर्ने काम भइरहेकोले ४८ हजार ८३२ जना नेपाली नेपाली फिर्ता आएका छन्। यो २५ साउनसम्मको र २६ साउनको बिहानसम्मको तथ्यांक हो।

२६ बेलुकासम्मको उडानको विवरणलाई भोली अद्यावधिक गरेर अहिलेसम्मको कुल उद्दार संख्या आउँछ। गुरागाईका अनुसार एकदुई दिनपछि थप उद्दार उडानको आवश्यकता परेको अवस्थामा पर्यटन मन्त्रालयको प्रस्तावमा थप उडानको अनुमति दिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close