३० लाख बालबालिकालाई खाेप , १ लाख स्वयंसेवी सरकारकाे तयारी

सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार थालेको छ । सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदायलाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो ।

खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने छ ।

खोप अभियानका लागि ५० ठाउँमा खोप केन्द्र राख्ने र एक लाख जना स्वंयसेवी खटाउने सरकारको तयारी छ ।

पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो ।

अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ ।

सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले अभियान चलाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close