बाँकेमा आजदेखि पुनः लकडाउन

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू गरिएको हो। यसपछिको परिस्थिति हेरेर लकडाउनको अवधि थपघट गरिने सहायक प्रजिअ उपाध्ययले बताए।

लकडाउन पहिलेको भन्दा कडा हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन पहिलेको भन्दा एकदम कडा हुनेछ। लकडाउनको उल्लंघन गर्नेलाई कानुनले तोके बमोजिम कडा कारवाही हुन्छ।’

लकडाउनमा के के खुल्न पाउँछन्?

शनिवार राति १२ बजेबाट मंगलबार राति १२ बजेसम्मका लागि जारी गरिएको लकडाउनका बेला अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेक अन्य कुनै पनि सेवा सञ्चालनमा ल्याउन नपाइने प्रशासनले जनाएको छ।

लकडाउन अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने सहायक प्रजिअ उपाध्यायले बताए।

त्यसैगरी, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमति भएका गाडी मात्र सञ्चालन हुनेछन्।

तर, साउन १९ मा रक्षा बन्धन (जनैपूर्णिमा) पर्व भएकाले उक्त दिन निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ। रक्षा बन्धनको अवसरमा भीडभाड नगर्न, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close