
लामो समयदेखिको अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार १३ साउनमा पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।
उनले भने, ‘पानी परेको अवस्थामा अझै पनि कालिकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकोले र खल्ला घाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ ।’ कर्णाली राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका करिव ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।
खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गरे ।