राजतन्त्र फर्काउन झापामा र्‍याली

मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन भइरहेका छन् । राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि राजावादीहरु यसरी जुर्मुराएका हुन् ।

काठमाडौँ,बुटवल,पोखरा, नेपालगञ्ज,सुर्खेत,धनगढी, जनकपुर,विराटनगरलगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए । राजतन्त्रवादी दलहरु र हिन्दू राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वतस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् ।

देशैभर प्रदर्शनकारी सडकमा उत्रिन थालेपछि सरकार पनि अलमलमा देखिएको छ । अहिलेसम्म भएका प्रदर्शनमा सरकारले ठाडै हस्तक्षेप नगरे पनि आगामी कार्यक्रमहरु आयोजना हुन नदिनका लागि रणनीति बनाउन थालेको छ । प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ ।

प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् । हिन्दू राष्ट्र स्थापना र राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनमा राज्यले दमन गरे त्यसले अर्को जनआन्दोलनको रुप लिने राप्रपा नेता राजेन्द्र लिङदेन बताउँछन् । ‘कोरोनाको समयमा प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरुले विभिन्न सभा–सम्मेलन गर्दै हिँड्दैछन्, जनताले गर्ने शान्तिपूर्ण प्रदर्शन रोक्न खोज्नुचाहिँ निन्दनीय बिषय हो,’ लिङ्देनले भने । नेकपा एमाले अध्यक्ष केपी ओलीसङ्ग तालमेल गरेर चुनाव जित्ने उनी राप्रपाका एक मात्र उम्मेदवार हुन् ।

झापाको ‘फ्रन्ट लाइन’मा राप्रपा

हालसम्म भएका प्रदर्शनहरु स्वतन्त्र देशभक्त नागरिक,राष्ट्रवादी नागरिक समाजलगायत संघसंस्थाका व्यानरमा आयोजना गरियो । प्रदर्शनको अग्रपंक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दू महासंघ,केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (बेपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायत छन् ।

देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्दैछ । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय पजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएको हो । झापामा हुने कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी छ ।
झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण,कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥याली आयोजना गर्न लागिएको लिङ्देनले बताए ।

सांसद लिङदेनले र्‍यालीमा समान विचार राख्ने सबै व्यक्ति,संगठन र पार्टीलाई राष्ट्रिय झण्डा,आ–आफ्नो संस्था,संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।

यस्तो छ कार्यक्रम

शनिबार झापामा हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् । हरेक स्थानीय तहबाट ११ बजे र्‍याली निस्कने र काँकडभिट्टा जाने बताइएको छ । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत ¥याली प्रारम्भ हुनेछ । साढे एक बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुनेछ-प्रचारप्रसार समितिका संयोजक रञ्जित प्रसाईंले बताए । कार्यक्रममा सहभागी हुनेले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।

के भन्छन् लिङ्देन ?

‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन । यो साझा प्रणाली होइन । यसले जनताको भावनाको कदर गर्न सक्दैन । नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकको लागि राजसंस्था आवश्यक छ ।

हामीले पहिल्यैदेखि यो प्रणालीले काम गर्न सक्दैन भनेर भनिरहेका थियौँ । त्यो अहिले सत्य सावित हुँदै आएको छ । अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो । यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ । त्यसैले शान्तिपूर्ण माग भइरहेको छ । देशका ठूला पार्टी भन्‍नेहरुले यसलाई सम्बोधन गरेर सबै अटाउने सहमतिको राजसंस्था,हिन्दू राष्ट्र स्थापना गर्न सक्नुपर्छ । राजसंस्था फिर्ता हुनुपर्छ भन्‍ने हाम्रो माग हो । यो नै मुलुकको समस्याको समाधानको एकमात्र विकल्प हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close