
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार (आज) पनि दिउँसो १ बजे बस्दैछ । बालुवाटरामा बस्ने बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी हुने सम्भावना न्यून छ ।
उनले मंगलबारको बैठकमा नै आजको बैठकमा नआउने जानकारी गराएका थिए । त्यसैले प्रधानमनन्त्री उपस्थित हुने नहुने टुंगो नलागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि ओली आजको बैठकमा उपस्थित हुने नहुने अनिश्चित नै छ । “प्रधानमन्त्री बैठकमा जाने नजाने भन्ने अनिश्चित नै छ,” सचिवालय स्रोतले भन्यो ।
मंगलवाराको बैठकमा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका थिए ।
प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित भएमा बिहीबारका लागि डाकिएको बैठक र पार्टीको भविष्यमा नै चिन्ताग्रस्त स्थिति आउन सक्ने नेताहरु बताउँछन् । प्रधानमन्त्री ओली बैठकमा सहभागी नभए पनि बैठक सञ्चालन गर्ने बहुमत सदस्यको तयारी छ ।