सञ्चालनमा आएका विद्यालय दुई दिनमै बन्द

लामो समयपछि सञ्चालनमा आएका बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु दुई दिनमै बन्द भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै शनिबारदेखि नगरपालिका क्षेत्रमा लकडाउन गरिएपछि विद्यालय पनि बन्द भएका हुन् ।

नगरकार्यपालिकाको बैठकले नगर क्षेत्रमा लकडाउन गरेकाले शिक्षण संस्थाहरु बन्द भएका दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताउनुभयो । कक्षा १२ को परीक्षा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर सञ्चालन हुने तर अन्य शिक्षण संस्थाहरु बन्द रहने उहाँको भनाइ छ ।

नगरपालिकाले नगर क्षेत्रभित्रका लामो समयदेखि बन्द रहेका विद्यालय यही मंसिर ११ गतेबाट सञ्चालनमा ल्याएको थियो । नगरक्षेत्रमा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि विद्यालय फेरी बन्द गरिएका शिक्षा शाखा प्रमुख नाथले जानकारी दिनुभयो ।

लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुमा भने नकारात्मक असर पर्दै गएको छ । लकडाउनका कारण गएको चैतदेखि विद्यालय बन्द छन् । यो शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी नपुगेरै शैक्षिक सत्र अन्त्य हुने चिन्ता बढेको मणिलेक मावि गुरुखोलका प्रधानाध्यापक केशवदत्त भट्टले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा शिक्षणका अन्य विकल्पहरु प्रभावकारी नभएका र विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेको उहाँले बताउनुभयो ।

नगरपालिकाले यसअघि कोरोनाको जोखिम कायमै रहेको भन्दै रेडियो शिक्षा र टोल शिक्षामार्फत पठनपाठन गरेको थियो । दशरथचन्द नगरपालिकाकालाई शनिबारदेखि मंसिर २२ सम्म लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापासहित १८ जनालाई शनिबार कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close