चाडपर्वले नछोएका चिकित्सक

‘कोरोना संक्रमितको उपचार मेरो पहिलो प्राथमिकता हो’

डा अनुप बाँस्तोला, कोरोना विरुद्धको लडाईंमा होमिएका एक योद्धा हुन। उनको अधिकांश समय अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै बित्ने गर्छ।

कोरोना संक्रमितलाई निको बनाएर घर फर्काउन उनी दिनरात खटिरहेका छन्। नेपालमा भेटिएका पहिलो संक्रमितको उपचारदेखि अहिलेसम्म उनी त्यही रफ्तारमा अघि बढिरहेका छन्। अझ भनौं, कोरोना विरुद्धको यो लडाईंमा उनको सक्रियता झनै बढेको छ।

चाडपर्वको रमझम छ। तर डा बाँस्तोलालाई न त दसैंको रमझमले छोयो न त तिहारको रौनकले नै। कारण– कोरोना संक्रमितको उपचार उनको पहिलो प्राथमिकता हो।

उनी भन्छन्, ‘कोरोनाका सिकिस्त बिरामीहरु अस्पतालमा छन्। उनीहरुलाई कसरी छिटो र प्रभावकारी रुपले निको बनाएर घर पठाउन सकिन्छ भन्नेमै मेरो ध्यान छ।’

दसैं जस्तै तिहार पनि अस्पतालमै बिताउने उनी बताउँछन्। यस वर्षको तिहार के–कसरी मनाउने उनको योजना छ, विगतमा कसरी मनाएका थिए लगायत विषयमा डा बाँस्तोलाले  आफ्ना अनुभव यसरी साटेः

यस वर्षको तिहारमा मेरो त्यस्तो विशेष योजना छैन। मेरा दिदीबहिनी टिका लगाउन आउँछु भन्दै हुनुहुन्छ। तर कोरोनाको यो जोखिममा सुरक्षित भएर यात्रा गर्न चुनौतीपूर्ण छ। त्यसैले यो वर्ष भेटघाट होला जस्तो लागेको छैन। सामाजिक दूरी कायम गरेर नै तिहार मनाउने योजनामा छु।

दसैंको समयमा कोरोना संक्रमितको संख्या केही घटे पनि दसैंपछि पुनः बढेको छ। होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दो छ। संक्रमितको संख्या बढिरहेकोले पनि उनीहरुको उपचारमै व्यस्त हुन्छु होला।

अघिल्लो वर्षको तिहार रमाइलोका साथ मनाएको थिएँ। लक्ष्मीपूजा गर्ने, साथीभाइसँग भेटघाट गर्ने, टीका लगाउने, रमाइलो गर्ने, जमघट गर्ने गरिएको थियो। तर अहिले अवस्था सामान्य छैन। परिवारमा, साथी भाइसँग जमघट गर्दा कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना हुन्छ। त्यसैले टीका लगाउने प्रक्रिया पनि फेरिन सक्छ।

कोरोना संक्रमणका सिकिस्त बिरामीहरु अस्पतालमा छन्। उनीहरुको उपचार गर्ने, निको बनाउनेतर्फ मेरो पहिलो प्राथमिकता छ। त्यसैले तिहारमा भन्दा पनि कोरोना संक्रमितलाई कसरी छिटो निको बनाउन सकिन्छ भन्नेतर्फ नै मेरो ध्यान छ।

घरमा परिवारसँग केही समय शुभकामना साटासाट गरेर तिहार मनाए पनि मेरो विशेष ध्यान भनेको संक्रमणलाई कसरी रोक्ने र सिकिस्त बिरामीको उपचार कसरी प्रभावकारी रुपमा गर्ने भन्नेमै हुन्छ।

अहिले हामीले विगतका वर्षहरुमा मनाएजसरी तिहार मनाउने समय छैन। सावधानी नअपनाउँदा शुभकानासँगै कोरोना पनि साटासाट हुनसक्छ। त्यसैले संक्रमणको जोखिमबाट जोगिन टीका लगाउनेले ध्यान दिनुपर्छ। साथीभाइसँग धेरै घुलमिल हुने वातावरण पनि छैन।

अर्को, देउसी-भैलो खेल्दा पनि कोरोना संक्रमण फैलिन सक्छ। बढी भीडभाड हुन्छ। सँगै नाच्ने, गाउने, हिँड्ने भएकाले देउसी–भैलो खेल्दा कोरोनाको जोखिम धेरै हुन्छ। तिहारको शुभकामना भर्चुअल रुपमा साटासाट गर्न सकिन्छ। फोन या विभिन्न माध्यमबाट गर्न सकिन्छ। घरमै बसेर परिवारसँग रमाइलो गरेर पनि तिहार मनाउन सकिन्छ।

घरमै आइसोलेसनमा बसेका संक्रमितहरुले यसका विभिन्न मापदण्ड पालना गर्नुपर्छ। खोकी लागिरहेको छ र श्वासप्रश्वासमा समस्या आएको छ भने चाडपर्व भनेर घरमै बस्नु हुँदैन। त्यस्ता बिरामीलाई तत्काल अस्पताल जान म सुझाव दिन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close