
सुर्खेत, ८ भदौ ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा भदौ १२ गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा १२ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १ गतेदेखि ५ गतेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्दै जान थालेपछि ९ गतेसम्म निशेषधाज्ञा थप गरिएको थियो ।
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसायहरु सञ्चालन गर्न पाइने छ। कार्यालयहरुमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन्।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइने छ भने धार्मिक, सामाजिकलगायतका जमघट गर्न पाइने छैन। एम्बुलेन्स, शववाहन, दमकल, भिआइपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधनहरु मात्र निषेधाज्ञा अवधिमा चलाउन पाइनेछ।