राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ, अधिकतम् १० लाख कर्जा पाइने

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसानहरूका लागि किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम् १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको हो ।

१० लाख रुपैयाँ रकम भित्र १ लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानूनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ ।

यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने छ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोवाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने युएसएसडि मोवाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close