बझाङ र बाजुरामा बाढीको वितण्डा, धनगढी जलमग्न

जुरामा आइतबार राति बूढीगंगा नदीको बाढीले बडिमालिका नगरपालिका–२ घाँघर बस्तीमा घर बगाउँदा ६५ वर्षीया अइसेनी महत बेपत्ता भएकी छन् । उनी वडाध्यक्ष डम्बर महतकी आमा हुन् ।

वर्षाका कारण सोमबार धनगढी बजार क्षेत्र जलमग्न भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार बाढीपहिरोबाट विभिन्न ठाउँमा ५० भन्दा बढी घर भत्किएका छन् । बडिमालिका नगरपालिकाको घाँघर, तिपाडा, जडांगा, बूढीगंगा नगरपालिकाको ताप्रिसेरा र गौमुल गाउँपालिकामा बाढीपहिरोले स्थानीयको घरमा क्षति पुर्‍याएको छ । घरवारविहीन भएकालाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई खाने व्यवस्था गरिएको प्रजिअ गैरेले बताए ।

बूढीगंगा नदीमा आएको बाढीले बाजुरा मुख्य सडकमा पर्ने जडाँगास्थित ८० मिटर लामो बेलिब्रिज बगाएको छ । बेलिब्रिजसँगै रहेको झोलुंगे पुलसमेत बगेपछि सदरमुकाम मार्तडीसँग दक्षिणी क्षेत्रको पैदल आवागमनसमेत कठिन भएको छ । यस्तै, सेती नदीमा आएको बाढीले सोमबार बिहान जयपृथ्वी राजमार्गको २५ मिटर सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । सडक बगेपछि सदरमुकाम चैनपुरलगायत माथिल्लो भेगको यातायात सम्पर्कविच्छेद भएको छ । दर्जनौं सवारीसाधन र यात्रु बाटोमा अलपत्र परेका छन् ।

सडकमाथि कडा चट्टानी भाग रहेको र सेती नदीको बहाव नघटेको कारण तत्काल सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने सम्भावना नरहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । जयपृथ्वी राजमार्गको खोड्पे बझाङ सडक हेर्दै आएको सडक डिभिजन बैतडीका इन्जिनियर हरिश जोशीले भत्किएको सडकमा जाली भरेर मर्मत गर्ने प्रक्रिया थालिएको बताए । सेती नदीमा पानीको सतह बढेसँगै नदी किनाराका बस्ती जोखिममा परेका छन् । नदीले कटान सुरु गरेपछि जाल्तडी, भोपुर, सुबेडालगायतका दर्जनौं गाउँ जोखिममा रहेको स्थानीयले बताएका छन् ।

खोलानाला अतिक्रमणले डुबान

धनगढी उपमहानगर पनि जलमग्न भएको छ । बसपार्क, उत्तरबेहडी, वडा–३ को विशालनगर, चटकपुर, मिलनचोक, वडा–७ को मनहरा, मोतीचोक, वडा–१२ को मुक्तकमैया बस्ती र वडा–५ को हसनपुर, शिवनगरलगायत क्षेत्रका सयौं घरभित्र पानी पसेको छ । मुक्तकमैया बस्तीमा घरभित्र पसेको पानीले खाद्यान्न तथा लत्तकपडा भिजाएको पीडित परिवारले बताएका छन् । दोस्रो तला नभएका घरका केही परिवार आफन्तको घरमा सर्न बाध्य भएका छन् । बजार क्षेत्रमा खोलानाला अतिक्रमण र ढलको व्यवस्था नहुँदा धनगढी उपमहानगर जलमग्न हुने गरेको छ । धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने कैलाली नाला, सेतो र रातो पुलका नाला र बसपार्कमा खोलाको निकास अवरोध भएर डुबान भएको हो ।

स्थानीय पुष्पराज ओझाले खोलानाला क्षेत्र मिचेर घर बनाएपछि पानीको स्वाभाविक बहाव थुनिँदा बजार डुबानमा परेको बताए । सहरी क्षेत्रभित्रका खोलानाला अतिक्रमण हटाउन प्राविधिकसहितको कार्यदल बनाएर काम भइरहेको धनगढी उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीको भनाइ छ । ‘कार्यदलको रिपोर्ट आइसकेको छ,’ उनले भने, ‘यो वर्षबाट अतिक्रमित क्षेत्र खाली गराउँछौं ।’ कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा सतह बढेकाले पालिकामार्फत स्थानीयलाई सतर्क रहन खबर पठाएको जानकारी दिए । ‘आपत्कालीन उद्धारको आवश्यकता परे तुरुन्त खबर गर्न भनेका छौं,’ उनले भने, ‘उद्धार र राहतको पूर्वतयारी भएको छ ।’ कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंह,अर्जुन शाहले खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close