धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ मा देशभरको १४ लाख ७९ हजार तीन सय ७८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जसबाट ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षको तुलनामा गतवर्ष धानखेती भएको जमिनको क्षेत्रफल बढी देखिन्छ । तर उत्पादन कम छ । त्यसअघिका तीन आर्थिक वर्षमा भने अहिलेको भन्दाबढी धान उत्पादन भएको थियो । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार, २०७६/७७ मा ५५ लाख ५० हजार र २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

त्यस्तै, धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले धानखेती गरेको जमिनको क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टर बराबर थियो । त्यो क्रमशः घट्दै गएर यसवर्ष १४ लाख ४७ हेक्टरमा खुम्चिएको छ । आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ६९ हजार पाँच सय ४५ र आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ९१ हजार सात सय ४४ हेक्टरमा धान खेती भएको थियो । त्यस्तै, २०७६/७७ मा १४ लाख ५८ हजार नौ सय १५ र २०७७/७८ मा १४ लाख ४९ हेक्टर जमिनमा धान खेती भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान बाली लगाइएको समग्र क्षेत्रफल दुई प्रतिशतले घटेको देखिन्छ ।

यसवर्ष समग्र उत्पादनमा छ दशमलव ९४ प्रतिशतले र उत्पादकत्वमा नौ दशमलव १२ प्रतिशतले बढेको छ । गतवर्ष एक हेक्टर जमिनमा तीन दशमलव ४१ मेट्रिकटन बराबर धान फलेको थियो । यसवर्ष एक हेक्टरमा तीन दशमलव ७९ मेट्रिकटन धान फलेको देखिन्छ ।

प्रदेशगतरुपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गतवर्ष मौषमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा निकै क्षति भएका कारण उत्पादनमा पनि कमी आएको थियो । यसवर्ष अवस्था सामान्य भएकाले गतवर्षको तुलनामा उत्पादन बढी देखिएको हो ।

गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५ दशमलव दुई प्रतिशत, प्रदेश–१ मा पाँच दशमलव ७२ प्रतिशत र कर्णालीमा तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा एक दशमलव ४५ प्रतिशतले, गण्डकी प्रदेशमा तीन दशमलव ७४ प्रतिशत र मधेश प्रदेशमा शून्य दशमलव १८ ले बढेको छ ।

यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादनमा धान उत्पादनले करिब चार प्रतिशत बराबर योगदान गरेको पनि मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धिहुनुको कारण गतवर्ष धानबाली भित्र्याउने बेलामा २०७८ असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षा भएको थियो । जसको असर उत्पादनमा देखिएको हो । बेमौषमी वर्षाकै कारण गतवर्ष लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब आठ दशमलव ७४ प्रतिशत उत्पादनमा कमी आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन बढी देखिनुमा केही महत्वपूर्ण कारण रहेको बताउनुहुन्छ । “यस वर्ष मौसम औसत रहेको, ढिलोगरी भए पनि तराइका जिल्लामा रासायनिक मल उपलब्ध भएको, उन्नत तथा हाइब्रिड जातको बीउ प्रयोग हुनु र स्थानीय तहसम्म कृषि प्रविधिको पहुँचमा केही वृद्धि भएका कारण धान उत्पादनमा सामान्य वृद्धि भएको हो ।”, प्रवक्ता सञ्जेलले भन्नुभयो ।

सबै प्रदेशका कृषि मन्त्रालय र जिल्लाबाट प्राप्त धानबाली लगाइएको क्षेत्रफल तथा उत्पादनका आधारमा कृषि तथ्याङ्क प्राविधिक समितिको सिफारिसले यो विवरण तयार पारेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close