
बलात्कृत महिलाको पीडालाई आफ्नो सिर्जनामा उतरिरहँदा प्रकाश सपुत बारम्बार भावुक बने । समाजको यथार्थ चित्रण गर्न प्रकाशले गीतको शब्दमात्रै होइन, म्यूजिक भिडियोमा पनि भरमग्दुर दुःख गरेका छन् ।
फलस्वरुप उनको ‘बदला बरिलै’ बोलको गीत सर्वत्र छाएको छ । गीत हेर्ने र सुन्ने सबैलाई भावुक बनाएको छ । तीतो तर सत्यता चित्रण गरिएको ‘बदला बरिलै’ अहिले नेपालमा युट्युवको ट्रेन्डिङ नम्बर वानमा छ ।
हाल उनको गीत युट्युवमा साढे ३१ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतले एक हप्ताअघि आफ्नो निजी युट्युव च्यानलमा यो म्युजिक भिडियो अपलोड गरेका थिए ।
देवी घर्तीको स्वर रहेको गीतमा केकी अधिकारीले बलात्कृत युवतीको भूमिका निभाएकी छिन् । म्युजिक भिडियो तयार पार्दासम्म बदला बरिलैले दर्शकको यत्तिका भ्यूज पाउला भनेर आफूले नसोचेको उनले सुनाए । टेकपानासँगको कुराकानीमा उनले भने, ‘समाजका बारेमा गीत लेख्दा आत्मसन्तुष्टि मिल्छ ।’
यसअघि उनका गलबन्दी, बोलमाया, दोहोरी ब्याटल लगायत गीत पनि युट्युवमा हिट बनेका थिए । आफ्नै युट्युव च्यानलमार्फत् गीत पस्किरहेका प्रकाश सपुत समकालिन कलाकारहरुका लागि एक जल्दा बल्दा उदाहरण बनिरहेका छन् ।
उनी भन्छन्, ‘प्रविधिले सबैभन्दा धेरै कसैलाई कसैलाई खुसी दिएको छ भने त्यो कलाकारलाई नै हो । गीत रेकर्डिङदेखि श्रोता र दर्शकसम्म पुर्याउनका लागि नयाँ नयाँ प्रविधि आएका छन् ।’
हरेक गीतको सफलता र असफलतालाई अहिले प्रविधिले नै निर्धारण गर्ने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘वास्तवमै भन्ने हो भने प्रविधिले नै अहिले संगीतको व्यवसायलाई धानिरहेको छ ।’