
सत्तारुढ दल नेपाल कम्इुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपाध्यक्ष वामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने जवाफ दिएका छन् । मंगलबार बिहान आफ्नै भैंसेपाटी पुगेका अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमले यस्तो जवाफ दिएका हुन् ।
उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।
‘उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो’, गौतमको भनाई उद्धृत गर्दै सुवेदीले भने ।
अन्त्यमा अध्यक्ष प्रचण्डले अब के गर्ने ? भन्दै प्रश्न गरेपछि उपाध्यक्ष गौतमले कुनैपनि गुटमा नलाग्ने जवाफ दिएको उनले बताए ।
‘क.प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो’, उनले बैठकको भनाई उद्धृत गर्दै भने, ‘उपाध्यक्ष क. गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ भन्नुभयो ।’
हिजोको भेटबारे विभिन्न किसिमका टिकाटिप्पणी भएपछि उपाध्यक्ष गौतमको सचिवालयले स्पष्ट पारेको हो ।
साउन १३ गते उपाध्यक्ष गौतमले पार्र्टी एकता जोगाउन मध्यमार्गी ६ बुँदे प्रस्ताव ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली गुटमा लागेको चर्चा चलेको थियो । उनले पाँच वर्ष प्रधानमन्त्री ओलीले नै सरकार चलाउने र महाधिवेशनपछि पार्टी अध्यक्षबाट राजीनामा दिने प्रस्ताव ल्याएका थिए ।
प्रधानमन्त्री ओलीको पक्षमा उक्त प्रस्ताव ल्याएपछि उपाध्यक्ष गौतमले गुट परिवर्तन गरेको हल्ला बाहिरिएको थियो ।