सप्तरीमा कोरोनाका लक्षण देखिएका तीन जनाको मृत्यु, परीक्षणको रिपोर्ट आउन बाँकी

सप्तरीमा कोरोनाभाइरससँगको मिल्ने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । महिना दिन अघि मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जना र उपचाररत दुई जनाको बुधबार मृत्यु भएको हो ।

रुपनी गाउँपालिका ५ स्थित गढियामा एक महिनाअघि मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । ‘एक महिना अघि मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जनाको बुधबार मृत्यु भएको हो’, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले क्यानडानेपाललाई भने । उनकाअनुसार मृतकमा कोरोनाको लक्षण देखिए पनि पुष्टि हुन बाँकी रहेको छ ।

मृतक पुरुषको स्वाब संकलनका लागि जनस्वास्थ्यका कार्यालयको टोली आइरहेको उनले जानकारी दिए । ‘एक्कासी श्वास फेर्न गाह्रो र ज्वरो पनि आएपछि उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको हो,’ अध्यक्ष यादवले भने ।

यस्तै कोरोनाको जस्तै लक्षण देखिएका सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । श्वास पर्ने गाह्रो भएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार उनीहरुको मृत्यु भएको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले क्यानडानेपाललाई जानकारी दिए ।

उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि लगिएको मेयर साहले जानकारी दिए । मृतक तीन जनालाई कोरोना संक्रमण भए नभएबारे रिपोर्ट आएपछि मात्रै थाहा हुने भएको छ । तर, सावधानी भने अपनाइएको छ । पोजेटिभ रिपोर्ट आएका मृतकको सम्पर्कमा पुगेकाहरुको पनि स्वास्थ्य परीक्षण गरिने उक्त पालिकाहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close