नरैनापुरबाट दुई महिनापछि फर्कियो सेना

जेठको दोस्रो साता तिर कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा कोरोना नियन्त्रण भएको छ।  सबै संक्रमित निको भएर घर फर्किएका छन भने १५ वटा  क्वारेन्टाइन स्थल खाली छन्।

कोरोनाको संक्रमण नियन्त्रण भए पछि नरैनापुरमा खटिएको नेपाली सेना २ महिना पछि  नेपालगन्ज फर्किएको छ।

जेठ ११ गते सेना खटिदा नरैनापुरका  १५ वटा क्वारेन्टाइनमा ७ सय भन्दा बढी ब्यक्ति थिए। एक जनाको क्वारेन्टाइन स्थल मै मृत्यु भएको थियो भने १ सय १४ जना संक्रमित  थिए।

नरैनापुरमा कोरोनाको संक्रमणको अबस्था भयाबह बनेको थियो। भय र त्रासको वतावरण बढ्दै गए पछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले नेपाली सेना परिचालन गरेर चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउनु पर्ने माग गरेका थिए।

गाउँपालिको अनुरोध पछि जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आपतकालिन बैठकले नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरेर कोरोना नियन्त्रण गर्न नेपाली सेनाको टोली खटाइएको थियो। कोरोना रोगको महामारी नियन्त्रण सम्बन्धमा ज्ञान र अनुभव नभएको नेपाली सेनाले नरैनापुरको जय किसान माविको भवनमा क्याम्प खडा गरेर काम सुरु गर्यो।

शसस्त्र प्रहरी र नेपाल प्रहरीसँगै समन्वय गरेर नरैनापुर क्षेत्रका १५ वटा क्वारेन्टाइन स्थल लगायत गाउपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएको थियो। स्थानिय बासिन्दाहरुलाई कोरोना संक्रमण कसरी हुन्छ र के कस्ता सावधानी अपनाए पछि बच्न सकिन्छ भनेर सिकाउन थाल्यो। समुदायका मानिसहरुले कोरोनाबारे बुझ्दै गए। आफ्नो बानी ब्यबहार बदल्दै गए पछि कोरोना समुदायमा फैलन पाएन।

भारतबाट आएका १ हजार ३ सय १३ जनालाई जनालाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरियो।  संक्रमितहरुलाई दाङ र बाँकेका आइसोलेशन स्थलहरुमा राखेर उपचार गरियो।

असारको अन्तिम सातासम्म संक्रमितको संख्या बढेर  १ सय १९ पुग्यो। कोरोनाका संक्रमित मध्ये १ जनाको मृत्यु भए पनि बाँकी १ सय १८ जना निको भएर घर फर्किए। पछिल्ला दिनहरूमा क्वारेन्टाइन स्थलमा बसको सबै जनाको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ रिपोट आए पछि आ आफ्ना घरमा फर्किएका नरैनापुरका १५ वटै  क्वारेन्टाइनमा खाली भए।

क्वारेन्टाइनहरु खाली हुनु भनेको कोरोनाको संक्रमण नियन्त्रण हुनु हो। नरैनापुरबाट ब्यारेकमा फर्किएको नेपाली सेनाको टोलीलाई आवश्यकता अनुसार बाढी, पहिरो, डुबान लगायत  विपद व्यवस्थापनमा खटाइने नेपाली सेनाको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले बताए।

नरैनापुरमा कोरोना नियन्त्ररण गर्न गाउपालिकाको कोषबाट १ करोड ४१ लाख ६४ हजार खर्च भएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close