पर्सामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा, भिडभाड हुने क्षेत्रमा सेना खटाइने

पर्सामा सोमबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। कोरोनाभाइरस संक्रमण समुदायमा फैलिएको आशंकामा निषेधाज्ञा जारी गरिएको हो।

संक्रमितको व्यवस्थापनमै समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

पछिल्लो तीन सातामा पर्सामा ११ जनाको मृत्यु भएको छ। संक्रमित र मृतक बढ्दै जान थालेपछि वीरगन्जमा १० साउनदेखि नै निशेधाज्ञा लगाइएको छ। अब जिल्लाभरि सुरक्षा व्यवस्था कडा पारिने सहायक प्रजिअ बस्नेतले जानकारी दिए।

बस्नेतले भने, “सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी नै खटाइने छ। तर, बढी भिडभाड हुने स्थानमा सेनाले सहयोग गर्नेछ।” सुरक्षा व्यवस्था कडा बनाएर परीक्षण जारी राखिने उनको भनाइ छ।

पर्सामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ। छिमेकी जिल्लामा कोभिड अस्पताल नभएका कारण उपचारका लागि पर्सा ल्याइँदा मृतकको संख्या धेरै भएको सहायक प्रजिअ बस्नेत बताउँछन्।

पर्सामा लक्षण देखिएका संक्रमितलाई अस्पताल र सामुदायिक ‘आइसोलेसन’ मा राखिएको छ। तर, लक्षण नदेखिएका संक्रमित घरैमा भएको उनी बताउँछन्। संक्रमितसँग चिकित्सकको सम्पर्क हुने गरेको उनको दाबी छ।

ठाउँ अभावले लक्षण नदेखिएका संक्रमितलाई घरैमा राखिएको उनको भनाइ छ। त्यस्ता बिरामीबाट संक्रमण फैलने डर बढेको छ। त्यसलाई नियन्त्रण गर्न पनि निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासनले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close