
चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य बढाएका छन् ।
अहिले खुद्रामा प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ। बजार मूल्य हस्तक्षेपको भूमिकामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्यवृद्धि भएको हो। उता स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ। त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्य वृद्धि गरेका हुन्।
नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन दिनमा चिनीको उपभोक्ता मूल्य कम्तीमा एक सय रुपैयाँसम्म वृद्धि भएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक विक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको उपभोक्ता मूल्यवृद्धि भएको बताए । प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ।
थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीलाई खुद्रा पसलले एक सय रुपैयाँसम्म असुल गर्दै आएका छन् । ‘तीन दिन अघिसम्म खुद्रामा ८५ देखि ९० रुपैयाँसम्ममा चिनी बिक्री भएको थियो’, श्रेष्ठले भने, ‘साल्ट र स्वदेशी चिनी उद्योगीसँग चिनीको मौज्दात सकिएकाले ठूला व्यापारीले कालोबजारी गरी मूल्य अत्याधिक बढाएका हुन् ।’अन्नपूर्णबाट