यी ११ बुँदे नियम पालना गरी घरमा पनि क्वारेन्टाइनमा बस्न सकिन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम यथावत् रहेकाले  स्थल वा हवाई मार्गबाट स्वदेश आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

दिनहुँ कोरोना संक्रमित देखिइरहेकाले विदेशबाट नेपाल फर्किनेहरुले अनिवार्य १४ दिन सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने र सरकारले तोकेको मापदन्ड पालना गर्न अनुरोध गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुहारमा हेरेर कसलाई कोरोना छ–छैन भन्न नसकिने भन्दै लक्षण नभएका, भएका सबैले सावधानी अपनाउनुपर्ने बताए।

उनले भने, ‘हवाई वा स्थलमार्ग प्रयोग गरी स्वदेश फर्किएकालाई क्वारेन्टाइनमा बस्न घरपरिवारका सदस्यले पनि सहयोग गर्नुपर्छ। घरमै पनि क्वारेन्टाइनमा बस्न सकिन्छ। घरमा बस्ने सबैले क्वारेन्टाइनका सबै नियम पालना गर्नुपर्छ।’

घरमै क्वारेन्टाइनमा बस्ने व्यक्तिले निम्नानुसारका नियम पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छः
१. सकेसम्म छुट्टै कोठामा बस्ने। कोठा नभएमा अरु व्यक्तिसँग कम्तीमा २ मिटर टाढा बस्ने।
२. स्वास्थ्योपचारका लागि बाहेक अन्य बेलामा घरबाट बाहिर ननिस्कने। स्वास्थ्य संस्था जानुपरेमा सार्वजनिक यातायात प्रयोग नगर्ने। स्वास्थ्य संस्था जाँदा वा घर परिवारसँग २ मिटर टाढा बस्दा अनिवार्य मास्कको प्रयोग गर्ने।
३. आफूले प्रयोग गर्ने खाना खाने भाँडा, मञ्जन, दाँत माझ्ने ब्रस, काइँयो, लुगा, रुमाल, तौलिया, तन्ना अरुसँग नसाट्ने। र, प्रयोग गरिएका सामानहरु आफैंले धुने वा माँझ्ने।
४. बेलाबेलामा साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने। सकभर हातले नाक, मुख, आँखा नछुने।

५. खोक्दा हाच्छिउँ गर्दा कुहिना वा टिस्यु पेपरले नाक–मुख छोप्ने।
६. आफूले प्रयोग गरेको टिस्यु, रुमाल, मास्क जस्ता सामग्री छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र तुरुन्तै मचिमिची साबुन–पानीले हात धुने।
७. रुमाल, लुगा, प्रयोग गरेको तन्नालाई आफैंले साबुन–पानीले धुने र राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने।
८. छुट्टै शौचालयको प्रयोग गर्ने। यदि छैन भने आफूले प्रयोग गरिसकेपछि राम्ररी आफैंले निःसंक्रमण गर्ने पदार्थको प्रयोग गरी सफा गर्ने।
९. जथाभावी नथुक्ने।
१०. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरुको पूर्ण रुपमा पालना गर्ने।
११. हरेक दिन शरीरको तापक्रम नाप्ने र मिति अनुरुप टिपेर राख्ने।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close