आजवाट लकडाउन थप कडा, गृहमन्त्रालयको नयाँ नीति यस्तो छ

काठमाडौं भक्तपुर लगायतका क्षेत्रमा पनि कोरोना संक्रमित फेला परेपछि सरकारले आजबाट लकडाउन झन कडा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो भएको भन्दै रुष्ट भएपछि गृहमन्त्रालयले लकडाउनको नयाँ नीति जारी गरेको छ । म‌गलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । उनले काठमाडौंमा वित्तिय संस्था संचालन गर्ने वहानामा लकडाउन खुकुलो बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

उनले गृहमन्त्री रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलसँग लकडाउनलगायतका विषयमा जानकारी लिएर थप कडा गर्न निर्देशन दिएको बुझिएको छ । गृहमन्त्रीलाई लकडाउनमा अझ कडाई गर्नुपर्ने आवश्यकता औल्याउँदै निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन कडा गर्ने नीति बनाएको छ । गृह मन्त्रालयका अनुसार आज बाट लकडाउनमा कडाई हुनेछ । यसअघि जारी पासहरु रद्द हुनेछन् ।

अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।

गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइनेछैन ।

पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिनथालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।

यस्तो छ गृहको नयाँ नीति
१ एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द ।

२ अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।

३ अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।

४ त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।

५ पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close