‘नारा–जुलुसले न्यायालयलाई त्रास सिर्जना गर्यो : न्यायाधिस कार्की

 

सुर्खेत, २० माघ । सर्वोच्च अदालतका न्यायाधिस हरिकृष्ण कार्कीले अदालतमा मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले न्यायलयमा त्रासको वातावरण सिर्जना गर्ने गरेको बताए ।

न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासंग सुझाव संकलन गर्ने क्रममा सुर्खेत आएका न्यायाधिस कार्कीले सोमबार सञ्चारकर्मीहरुसंगको छलफलमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘पछिल्लो समय मुद्दाको विषयमा सडक र अदालतकै ढोकामा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधिस र न्यायलयमा त्रासको वातावरण सिर्जना गर्छ,’ उनले भने, ‘अदालतले सडकबाहिर नभई प्राप्त मिसिल र कानून हेरेर फैसला गर्नुपर्ने हुन्छ ।’

न्यायाधिस कार्कीले मुद्दा परिसकेपछि सडकमा नाराजुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिए । ‘न्यायाधिसले मिसिलमा प्रमाण के छ ? त्यो हेरेर आदेश–फैसला दिनुपर्छ, पीडितको पक्षमा प्रमाण पर्याप्त छैन् भने न्याय पाउने सम्भावना रहँदैन,’ उनले भने ।

न्यायाधिस कार्कीले अदालतमा मुद्दा छिटो फैसला गर्न क्यालेन्डर लागू गरेको जानकारी दिए । कोभिड —१९ का कारण उक्त क्यालेन्डर प्रभावित भएको उनको भनाई छ । छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले विपन्नलाई न्याय पाउन मुस्किल रहेको, न्यायालयमा कानून व्यवसायी र कर्मचारीको माध्यमबाट बिचौलिया हावी भएका भन्दै यस्ता विकृतिहरु सुधार ल्याउन नसके अदालतप्रति जनविश्वास घट्ने सुझाव दिएका छन् ।

सर्वोच्च अदालतले यही साउन ३० गते वरिष्ठ न्यायाधिस हरिकृष्ण कार्कीको संयोजकत्वमा न्याय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । समितिमा सर्वोच्चकै न्यायाधिस प्रकाशमानसिं राउत, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार इकाईका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी लगायत सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close