बन्दुकसहित लकडाउनको विरोधमा अमेरिकामा प्रदर्शन, ट्रम्पले गरे समर्थन

अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् । त्यसको विरोधमा ट्रम्प समर्थकहरुले बन्दुकसहित बाहिर निस्किएर प्रदर्शन गरेका हुन् ।

ट्रम्पले ट्वीट गरेर प्रदर्शनकारीको समर्थन गर्दै लकडाउन खुकुलो पार्न माग गरेका हुन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नु पर्ने भन्दै ट्वीट गरेका छन् ।

प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र त्यसले नागरिकलाई समस्यामा पारेको बताएका छन् । तर स्वास्थ्य अधिकारीले भने लकडाउन हटाएमा वा खुकुलो पारेमा संक्रमण थप फैलिन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ४५ सय ९१ जनाको ज्यान गएको थियो । यसको प्रमुख कारण जोन हप्किन्स विश्वविद्यालयले कोभिड–१९ का सम्भावित केसहरुलाई पनि समावेश गर्न थालेकालेह हुन सक्ने बताइएको छ ।

अमेरिकामा शुक्रबार पनि २५ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३६ हजार ७७३ भन्दा बढी रहेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा झण्डै सात लाख पुगेको छ ।

लकडाउन अन्त्य गर्न माग गर्दै मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा प्रदर्शन भएको हो । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेर ट्वीट गरेका सबै राज्यमा डेमोक्र्याटको शासन छ ।

ओहायो र उटालाई ट्रम्पले ट्वीटमा उल्लेख गरेनन्, त्यहाँ रिपब्लिकनको शासन रहेको छ । विस्कनसिन, ओरिगन, मेरिल्याण्ड, आइडाहो र टेक्सासमा पनि प्रदर्शनको तयारी भएको छ । भर्जिनियामा केहीको संख्यामा रहेका प्रदर्शनकारी मिसिगनमा भने हजारौँको संख्यामा थिए ।

बिहीबार ट्रम्प प्रशासनले लकडाउन हटाउने योजना सार्वजनिक गरेको भोलिपल्ट प्रदर्शन भएका हुन् । बिहीबार पनि उनले प्रदर्शनकारीको समर्थन गरेका थिए ।

ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको ब्रिफिङ्गमा पनि प्रदर्शनकारीको समर्थन गरेका छन्।

प्रदर्शनकारीबाटै संक्रमण फैलिने जोखिम रहेको बारे सोधिएको प्रश्नमा ट्रम्पले त्यस्तो नहुने र मानिसहरुले आफ्नो विचार मात्रै प्रस्तुत गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close