नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि फेरि १ बजे बस्ने भएको छ ।

आज बसेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको प्रस्तावमा छलफल बाँकी रहेकाले भोली बैठक बस्न लागेको हो ।

दुई प्रस्तावका विषयमा औषचारिक अनौपचारिक छलफल बाँकी रहेकोले बैठकमा औपचारिक रुपमा अगाडी बढाउने र अनौपचारिक रुपमा पनि छलफल अघि बढाउन उपयुक्त हुन्छ भनेर नेताहरुबीचमा छलफल अघि बढाईने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आजको बैठकमा प्रचण्ड ओली दुई अध्यक्षले धारणा राखेको र अन्य सदस्यले केही कुराहरु राखेको उनको भनाई छ ।

उनी थप्छन्, “प्रस्ताव र प्रस्तावसँगै पार्टीको संकटको चुरो कारण र त्यसको समाधान वा निकासका विषयमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।”

त्यस्तै बैठक पश्चात साझा प्रस्तावका विषयमा के कुराकानी भयो भनेर पत्रकारको प्रश्नमा उनले भने, “त्यो कुरा बैठकमा छलफल भइसकेपछि नै निस्कने निष्कर्ष हो । अहिले त्यसबारे निष्कर्ष निकाल्ने विषयमा कुरा भइसकेको छैन । पार्टी एकतालाई रक्षा गर्दै पार्टीमा देखा परेका समस्याको कारणको पहिचान गर्दै त्यो दिशातिर गरी छलफल अघि बढाउने हाम्रो प्रयास जारी छ । औपचारिक र अनौपचारिक छलफलले निष्कर्ष दिनेछ ।

त्यस्तै १८ गतेको स्थायी कमिटी बैठकको समय के हुन्छ ? भन्ने प्रश्नमा उनले पूर्वनिर्धारित अनुसार नै हुने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषय समाधानका लागि छलफल भएको छ । बैठकमा अध्यक्षद्वयको पत्रको विषयमा पनि छलफल भएको थियो । दुवै अध्यक्षको प्रस्तावलाई साझा विषय बनाएर आगामी मङ्सिर १८ गते हुने स्थायी कमिटि बैठकमा लैजाने वा अलग अलग रुपमा लैजाने भन्ने विषय पनि कुराकानी भएको छ ।

बैठकपछि पत्रकारले राखेको राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे एक प्रश्नको जवाफ दिँदै पार्टी प्रवक्ता श्रेष्ठले भने, “प्रतिगामी शक्तिले प्रतिगमनको अभ्यास नगरे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केहि कमजोरी र गल्ति भएका छन् भने समिक्षा गरेर सुधारेर अघि बढ्छौ तर जनताद्वारा चुनिएको शक्तिको कुनै विकल्प नखोजे हुन्छ ।

नेकपा विवाद चुलिएका बेला अध्यक्षद्वयले छुट्टै प्रस्ताव यसअघिका सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक प्रस्तावका बारेमा छलफल गरिएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close