
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार गोप्य भेटवार्ता भएको छ ।
प्रदेश न.२ मा पूर्व माओवादीबाट दलित कोटामा उम्मेदवार रहेका राधेश्याम पासवानलाई समर्थन गरे आफूले पनि कांग्रेसका दुई र समाजवादीका एक उम्मेदवारलाई सघाउने प्रस्ताव गरेको बूढानिलकण्ठ स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँग सभामुख चयनको विषयमा सम्बन्ध चिसिँदै जाँदा नेकपा अध्यक्ष प्रचण्ड आज बिहान सुटुक्क देउवा निवास बूढानिलकण्ठ पुगेका थिए।
अध्यक्ष प्रचण्ड र देउवाको सचिवालयले समसामयिक विषयमा कुराकानी भएको जनाए पनि दुई शीर्ष नेता बीच राष्ट्रीय सभाको निर्वाचनमा प्रदेश नम्बर दुईमा राजपा उम्मेदवारलाई हराउन आन्तरिक सहमति भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार नेकपा अध्यक्षले प्रदेश नं.२ मा आफूलाई धोखामा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई बालुवाटार भित्राएर दुई बुँदे सहमति गरेको र राजपालाई दुई सीट दिएको आरोप लगाउँदै आएका छन्।
राष्ट्रीय सभा निर्वाचनमा राजपालाई शून्यमा झार्न उपेन्द्र यादव, प्रचण्ड र बिमलेन्द्र निधिले कम्मर कसेका छन्। ओलीले सरकारमा उपप्रधानमन्त्री हुँदा-हुँदै पनि उपेन्द्र यादवसँग चुनावी तालमेल नगरेर राजपासँग गरेका थिए। यस गठबन्धन बारे पूर्व माओवादी नेतालाई कुनै जानकारी नभए पछि प्रचण्ड ओलीसँग झस्किएका थिए।