जन्मदेखि देह त्यागसम्म : श्रीकृष्णको जीवनका १० विशेष कुरा जसले चुनौतीसँग लड्ने कला सिकाउँछ

आज कृष्णा जन्माष्टमी हो । धर्तीमाथि भगवान कृष्णको अवतारे भएको ५२४८ वर्ष बितिसकेको छ । मानिसहरुले धेरैजसो श्रीकृष्णको प्रेमी स्वरुप मात्रै देख्छन् । लीला गर्ने, सधैं मुस्कुराइरहने र हास्य व्यंग्य गर्ने देवताको छवि भगवान कृष्णको नै रह्यो तर कमै मानिसहरुलाई थाहा छ कि उनको जीवनमा जस्ता चुनौती र समस्या आए, त्यो सम्भवतः कुनै अवतारको अगाडि आएन ।

द्वापर युगमा मथुराको जेलमा जन्मिएका श्रीकृष्णको जीवन त्यो जेलको अँध्यारो कोठादेखि गुजरातमा सोमनाथ नजिकै प्रभास क्षेत्रमा देश त्यागसम्मको कठिन संघर्षले भरिपूर्ण रह्यो । उनको जीवनको हरेक घटनाले आज पनि हामीलाई आफ्नो जीवनको चुनौती र समस्यासँग जुध्नका लागि बाटो देखाउँछ ।

आउनुहोस्, जन्माष्टमीको मौकामा भगवान कृष्णको जीवनका १० कुराबाट आफ्नो जीवन कसरी उत्कृष्ट बनाउने भन्ने कुरा सिकौं ।

पहिलो कहानीः श्रीकृष्णको जन्म मध्यरातमा मथुराको कारागृहमा भयो । कंसले माता देवकी र पिता वसुदेवलाई कैद गरेर राखेका थिए किनभने उनीहरुका आठौं सन्तानको हातबाट कंसको मृत्यु हुँदैथियो ।

श्रीकृष्णले आठौं सन्तानको रुपमा जन्म लिए र त्यसै रात पिता बसुदेवले उनलाई गोकुल लिएर गए । गोकुलमा नन्दबाबालाई उनले सुम्पिए र नन्द–यशोदाकी सन्तान महामायालाई लिएर फर्किए ।

जीवनमन्त्रः

जीवनमा संघर्षको कुनै समय निश्चित छैन । संघर्ष जन्मसँगै सुरु हुन्छ । पहिलो लडाईं आफूलाई जीवित राख्ने हुन्छ । श्रीकृष्ण भगवानको रुपमा जन्मिएका थिए तरपनि जीवन बचाउने पहिलो संघर्ष जन्मिएको रातदेखि नै सुरु भयो ।

संघर्षसँग नडराउनुहोस्, नआत्तिनुहोस् । केही त्याग पनि गर्नुपर्ने हुनसक्छ । यसका लागि तयार हुनुहोस् ।

बच्चालाई जिम्मेवारी लिन सिकाउनुहोस्, उनीहरुको निर्णय क्षमता बढ्नेछ

दोस्रो कहानीः

कृष्ण पाँच वर्ष पुगेदेखि नै उनी आफ्ना गाइ चराउन जंगल जान्थे । आफ्ना गोठाला साथीहरुसँग उनी दिनभरी वृजमण्डलको जंगलमा आफ्नो गाइको सुरक्षाका लागि बस्दथे । घरबाट लगेको खाना खान्थे ।

बेलुकासम्म उनीहरु गाइबीच नै रहन्थे, गाईको हेरविचार गर्दथे र बेलुका सबैलाई घर लैजान्थे ।

जीवन मन्त्रः

बच्चालाई असाध्यै माया प्रेम दिनुहोस् तर उनीहरुलाई जिम्मेवार पनि बनाउनुहोस् । उनीहरुलाई स–साना काम सुम्पिनुहोस् ।

– यसो गर्दा उनीहरुमा घरप्रति जिम्मेवारीको भाव पनि विकसित हुन्छ र हरेक प्रकारको परिस्थितिमा निर्णय लिने क्षमता पनि विकास हुन्छ । प्रेमको भाव पनि बढ्नेछ ।

– यसो गर्दा उनीहरु घर र परिवारप्रति बढी नै गम्भीर हुनेछन् । उनीहरुको मनमा प्रेमको भाव पनि सञ्चारित हुन्छ ।

गलत कामको विरोध गर्नुहोस्, बच्चालाई पनि सिकाउनुहोस्

तेस्रो कहानीः

वृन्दावन र गोकुलबासीले राम्रो वर्षा होस् भनेर इन्द्रको पूजा गर्दथे । इन्द्र बादलका राजा हुन्, वर्षा गराउनु उनको मूल कर्तव्य हो । कृष्णले इन्द्रको पूजा रोकिदिए र गोवद्र्धनको पूजा सुरु गराए ।

इन्द्रले गोकुलमाथि भारी वर्षा गराउँदा कृष्णले गोवद्र्धन पर्वत उठाएर सबैको रक्षा गरे तर इन्द्रको पूजा हुन दिएनन् ।

जीवनमन्त्रः

– यसमार्फत् यो सन्देश हो कि मानिसहरुलाई उनीहरुको कर्तव्य पूरा गर्नका लागि घुस दिनु हुँदैन । गलतलाई रोक्नुहोस् ।

– हाम्रा संस्कार यस्तो होस् जसले गलत कामको विरोध गर्न सकोस् । यस्तो संस्कार बाल्यकालमा नै दिन सकिन्छ । बाल्यकालमा सिकाइएका राम्रा बानी जीवनभर रहन्छ ।

– बाल्यकालमा गलत कामको विरोध गर्ने क्षमता भएको खण्डमा उनीहरु आफ्नो जीवनलाई उत्कृष्ट पाउन सक्नेछन् ।

हरेक कामका दूरदर्शिता आवश्यक, आँखा खुल्ला र दिमागलाई सतर्क राख्नुहोस्

चौथो कहानीः

श्रीकृष्णले उज्जयिनी (मध्य प्रदेशको उज्जैन) का महर्षि सान्दीपनिको आश्रममा शिक्षा लिए । जब गुरुदक्षिणा दिने पालो आयो, तब सांदीपनिले आफ्नो हराएको छोरा फिर्ता ल्याइदेउ भनेर मागे । उनी शंखासुरको कब्जामा थिए । जो प्रभास क्षेत्रको सागरमा बस्दथे । श्रीकृष्णले शंखासुरलाई मारे । गुरुको पुत्रलाई फिर्ता ल्याए । त्यतिबेला श्रीकृष्णले समुद्रको बीचमा एउटा टापू देखे । पछि जरासंघको आक्रमणबाट बच्नका लागि यहीँ नै द्वारिका बसाए ।

जीवनमन्त्रः

– हामीले जे जति काम गर्छौं, खुल्ला दिमागले गर्नुहोस् । हरेक कुरामा निगरानी राख्नुहोस् ।

– केही कुरा वर्तमान समयमा तपाईंलाई काम नलाग्ला तर भविष्यमा त्यो काम लाग्न सक्छ । सधैं दुरदृष्टि राखेर नै हरेक कुरा सोच्नुपर्छ ।

– वर्तमानमा काम गर्दै भविष्यबारे पनि विचार गर्नुहोस् र योजना बनाइरहनुहोस् ।

परिवार र गृहस्थीमा प्रेम नै सबैभन्दा माथिः

​पाँचौं कहानी

रुक्मिणीको विवाह उनका भाइ रुक्मीले शिशुपालसँग निश्चित गरेका थिए । रुक्मिणी श्रीकृष्णसँग प्रेम गर्थिन् । उनले श्रीकृष्णलाई सन्देश पठाइन् । उनी आए र रुक्मिणीलाई हरण गरेर लिएर गए । कृष्णले रुक्मीमा युद्धमा हराएरै छोडे ।

– विवाह अघि दुबै परिवारमा निकै विवाद भइसकेको थियो । तर पनि यो तिक्तताको असर उनीहरुको सम्बन्धमा परेन । दुबैको मनमा एक अर्काका लागि सधैं प्रेम र सम्मान रह्यो ।

जीवनमन्त्रः

परिवार र गृहस्थीको आधार प्रेम हुन्छ । यसमा कहिल्यै कमी आउनु हुँदैन ।

– पारिवारिक मतभेद वा विवादको असर पनि श्रीमान् श्रीमतीको सम्बन्धमा हुनु हुँदैन । गृहस्थीमा कलहको पहिलो कारण पारिवारिक मतभेद हो ।

– श्रीमान् श्रीमती दुबैमा एक अर्का प्रति प्रेमकाम साथै सम्मानको भाव पनि हुन जरुरी छ ।

देश र समाजका लागि शान्ति अत्यावश्यक

छैटौं कहानीः

दुईपटक यस्तो भयो जब देश र समाजमा शान्तिका लागि श्रीकृष्णले विभिन्न प्रकारका सम्झौताको प्रयास गरे । आफूमाथि कलंक पनि लाग्न दिए ।

पहिलोपटक जब कंसको वध गरियो तब उनका ससुरा जरासंघले बारम्बार मथुरामा आक्रमण गर्न थाले । युद्धलाई सधैंका लागि रोक्नका लागि उनले मथुरा छोडेर द्वारिका बसाए । दोस्रोपटक, कौरव–पाण्डवको युद्ध रोक्नका लागि उनले शान्ति दूत बन्न रुचाए ।

जीवनमन्त्रः

समाज र देशका लागि शान्ति सबैभन्दा आवश्यक छ । यसका लागि कुनै पनि मूल्य बढी हुँदैन ।

– हामीले विवाद र झगडालाई जतिसक्दो रोक्ने कोसिस गर्नुपर्छ । सम्झौता धेरै राम्रो हुन्छ । जति सकिन्छ आपसी प्रेम स्थापित गर्नुहोस् ।

–विवादमा सम्बन्धका साथै को सही, को गलत भन्ने कुरा पनि याद गर्नुहोस् ।

महिलाको जीवनलाई पूरा आदर दिनुहोस्

सातौं कहानीः

प्राचिन भारतको एउटा राज्य थियो प्राग्ज्योतिषपुर । यहाँ नरकासुर नामका राक्षस थिए । जसले १६१०० महिलालाई बन्दी बनाएर राखिएको थियो । श्रीकृष्णसम्म यो कुरा पुग्यो । उनले नरकासुरसँग युद्ध गरे, उनलाई मारे ।

घरका मान्छेहरुले बन्दी बनाएका महिलालाई अपनाउन तयार थिएनन् । उनीहरुले ती महिला बन्दी अपवित्र भइसकेका थिए भन्ने ठान्थे । त्यतिबेला श्रीकृष्णले ती महिलालाई ‘म तपाईंहरु सबैलाई आजदेखि आफ्नी श्रीमतीको दर्जा दिन्छु । मेरो घरमा तपाईंहरु सबै त्यहि सम्मानमा रहनुहुनेछ जस्तो सम्मान एक श्रीमतीलाई चाहिन्छ ।

जीवनमन्त्रः

समाजमा महिलाले पूरा सम्मान पाउनुपर्छ । नारीको शोषण हुनु हुँदैन ।

– सामाजिक मान्यता र कुरीतिविरुद्ध सधैं उभिनुपर्छ । यदि समाजले कसैको उसको अधिकार खोस्छ भने हामीले पीडितलाई साथ दिनुपर्छ ।

–नारीको अपमान र अत्याचार गर्नेहरुले सजाय पाउनुपर्छ ।

जीवनको सबैभन्दा श्रेष्ठ अनुभव अत्यधिक तनाव र दबाबको समयमा नै पाइन्छः

आठौं कहानीः

कुरुक्षेत्रको मैदानमा कौरव र पाण्डव सेना आमनेसामने थिए । अर्जुनले दुबै सेनाको बीचमा गएर जब हेरे तब हातबाट धनुष छुट्यो । युद्ध नलड्ने निर्णय गरियो ।

त्यतिबेला श्रीकृष्ण उभिए, उनले अर्जुनलाई गीतको उपदेश दिए । दुबै सेना बीचमा उभिएका थिए तर अर्जुन दुखी थिए र कृष्ण एकदम शान्त । अर्जुन दबाबमा टुटे जब कृष्ण दृढतासहित उभिइरहे ।

जीवनमन्त्रः

परिस्थिति देखेर डराउनु र आफ्नो कर्तव्यबाट भाग्नु गलत हो ।

– यदि हामी शान्त र स्थिर हुन्छौं भने विपरित परिस्थितिमा पनि संसारको श्रेष्ठ ज्ञान दिन सक्नुहुन्छ वा आर्जित गर्न सक्नुहुन्छ ।

– भारी तनाव र दबाबको परिस्थितिमा पनि यदि डटिरहने हो भने जीत निश्चित छ ।

केही कुरासँग जति अट्याच हुनुहुन्छ त्यति नै डिट्याच पनि

नवौं कहानीः

महाभारत युद्ध समाप्तिपछि भगवान कृष्ण द्वारिकामा आफ्नो परिवारसँग बसिरहेका थिए तर केही समयपछि उनको यादववंशमा नै झगडा हुनथाल्यो । घरमा नै युद्धजस्तो स्थिति निम्तियो ।

श्रीकृष्णले बुझे कि परिवारको मर्यादालाई बचाउनका लागि अब सबै छोडिदिनु नै राम्रो हो । उनले द्वारिकालाई समुद्रमा डुबाइदिए ।

जीवनमन्त्रः

परिवार र घरसँग मोह वा प्रेम राख्न आवश्यक छ तर परिवारमा अनुशासन पनि त्यति नै जरुरी छ ।

–स्थिति बिग्रन थाल्यो, परिवार वा समाजका लागि संकट उत्पन्न भयो भने घर र परिवार त्याग्ने हिम्मत पनि मानिसमा हुनुपर्छ ।

– परिवारका सदस्य जति नै प्रिय किन नहुन् यदि गलत काम गर्छन् भने उनीहरुले दण्ड पनि पाउनुपर्छ ।

तपाईं जतिसुकै सक्षम र शाक्तिशाली भएपनि देह त्याग त गर्नैैपर्छ

दसौं कहानीः

द्वारिका डुबेपछि भगवान श्रीकृष्ण एउटा रुख मुनी बसेका थिए । उनको खुट्टामा एउटा मणि थियो जसको चमक टाढासम्म पनि पुग्दथ्यो । एक शिकारीले टाढाबाट त्यो चमक देखिरहेको थियो । उनलाई लाग्यो कुनै जनावर त्यहाँ बसिरहेको छ । उनले ती चमकलाई निशाना लगाएर तीर छोडे जुन सीधा श्रीकृष्णको खुट्टामा लाग्यो । यो तीरको विषको प्रभावले उनले आफ्नो देह त्यागिदिए । त्यतिबेला उनको वरिपरि कोही थिएनन् । अर्जुनले उनलाई खोज्दै त्यहाँ आइपुगे ।

जीवनमन्त्रः

तपाईं जतिसुकै सक्षम हुनुहोस्, शक्तिशाली हुनुहोस्, जन्म लिने हरेक व्यक्तिले शरीर छोड्नुपर्छ ।

–ठूल्ठूला व्यक्ति पनि आफ्नो जीवनको अन्तिम अवस्थामा एक्लै हुनसक्छन् । सृष्टिको नियम सबैका लागि समान छ ।

– कोही पनि मानिसले जन्म पनि एक्लै लिन्छ र मृत्यु पनि एक्लै हुन्छ । कोही पनि कसैसँग जाँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close