आयो आयो सुन्तला, बदाम, केरा  भन्दै गर्दा उपभोक्ता थप आकर्षित र उत्साहित

कलाकार धुर्मुस (सिताराम कट्टेल)ले थालेको ठेला व्यापारमा उपभोक्ताको भीड बढेको छ ।

चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशालामा आइतबारदेखि ठेला व्यापार सुरु भएको हो । बेला बेलामा धुर्मुुसले उपभोक्तालाई मनोरञ्जन समेत गराउँछन् । उपभोक्तालाई स्वागत गर्दै धुर्मुसले आयो आयो सुन्तला, बदाम, केरा रंगशालामा ठेला भन्दै गर्दा उपभोक्ता थप आकर्षित र उत्साहित देखिन्छन् ।

रंगशालामा पुग्ने मानिसको लागि भनेर सञ्चालन गरिएको ठेलामा सुन्तला, बदाम, पानी, केरा लगायतका फलफुल राखिएको छ । यहाँको कमाइ पनि रंगशाला निर्माणमा सहयोग हुने धुर्मुसले बताएका छन् ।

‘ठेला व्यापारका लागि एक जना छुट्टै व्यक्ति राख्ने तयारी भइरहेको छ’, धुर्मुसले भने, ‘म रंगशालाको कन्स्ट्रक्शन लगायत काममा व्यस्त हुन्छु । ठेलाको व्यापार हेर्न छुट्टै व्यक्ति राख्ने तयारी छ, भ्याएकाे बेला म आफैँ र सामाजिक अभियन्ता अर्जुन भुसालले पनि हेर्नुहुनेछ ।’

रंगशाला निर्माणको सहयोगका लागि ठेला व्यापार थालेको र छिट्टै अरु ठेला पनि थप गरिने उनले बताएका छन् । फास्टफूड, मःम लगायतका खाजा पनि ठेलामा राखिने र मःम को व्यापार सुन्तली (कुन्जना घिमिरे)ले गर्ने बताइएकाे छ।

धुर्मुसले आफूहरुले बेच्ने फलफूल बाहिरको भन्दा केही सस्तो हुने पनि बताए । यस्तै उनले फोहोर व्यवस्थापनका लागि छिट्टै डस्ट बिन राख्ने पनि बताए ।

रंगशाला निर्माणमा सहयोग गर्न चाहनेका लागि यो ‘मिठो’ अवसर भएको पनि उनले बताए । रंगशालाको ठेलाको व्यापारलाई साउदी अरबमा जेल जीवन बिताएर नेपाल आएका बिनोद रानाभाटले रेखदेख गर्नेछन् ।

चितवनमा बन्दै गरेको गाैतमबुद्ध क्रिकेट रंगशालाका लागि आर्थिक संकलन गर्न धुर्मुस सुन्तली फाउण्डेशनले नयाँ तरिका अपनाएको हो । ठेला व्यापारको साेच सामाजिक अभियन्ता अर्जुन भुसालले दिएको पनि धुर्मुसले बताए ।

उनले आफूलाई सेवा गर्ने मौका दिन पनि सबैसँग आग्रह गरेका छन् । रङगशाला निर्माणस्थल अगाडि सुरु भएको ठेला व्यापारको नाफा सबै रङगशाला निर्माण अभियानका लागि खर्च गरिने पनि उनले बताए । यो रंगशाला बनाउन झण्डै तीन अर्ब खर्च लाग्ने भनिएको छ ।

दीपा तिमल्सिना  उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close