ए डिभिजन लिग शनिबार सुरु हुँदै, उपाधिमा तीन क्‍लबको दावी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सुरु हुँदैछ । लिगअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा तीन क्लबले उपाधि जित्ने दावी गरेका छन् । साविक विजेता मनाङ मर्स्याङ्दी, मछिन्द्र र त्रिभुवन आर्मी क्लबले उपाधि जित्ने दावी गरेका हुन् ।

मनाङका प्रशिक्षक फुजा तोपेले मनाङले उपाधि रक्षा गर्न प्रयास गर्ने बताए । ‘हामी उपाधि रक्षा गर्ने प्रयासका साथ खेल्नेछौँ । हामीसंग राम्रो टिम छ’ तोपेले भने । यसपटक मनाङबाट कप्तान विराज महर्जनसहित सुजल श्रष्ठ विशाल श्रेष्ठ विशाल राई जसता खेलाडी मछिन्द्रमा गएका छन् । स्टार खेलाडीले छाडे पनि टिममा अझै केही राम्रो खेलाडी रहेको र जगजित श्रेष्ठको आगमनले पनि सहयोग पुग्ने तोपेले बताए । यस्तै विदेशी खेलाडी पनि राम्रो रहेको उनको भनाइ थियो ।

स्टार खेलाडीहरु भित्र्याएको मछिन्द्रले भने यस पटक लिगको उपाधि जित्ने लक्ष्य राखेको छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले स्टार खेलाडी भएकोले यस पटक उपाधिको दाबेदारी पेश गर्ने बताए । ‘सबै स्टार खेलाडी अनुबन्ध गरेका छौँ । यू २३ का खेलाडीहरु ३ जना आएका छन् । तयारी राम्रो भएको छ । लक्ष्य उपाधि नै हो’ कटुवालले भने । यस्तै कप्तान विराज महर्जनले पनि मछिन्द्रको लक्ष्य उपाधि नै रहेको बताए ।

लिगको उपाधिका लागि सदाबाहर दाबेदारको रुपमा रहन टिम त्रिभुवन आर्मीले यस पटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले लक्ष्य उपाधि नै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close