
दक्षिण एसियाली खेलकुद(साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ ।
दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन् । २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै छन् । त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडी दर्ता गरिएको छ ।
आठ खेल पोखरामा
यस प्रतियोगितामा प्रतिस्पर्धा हुने २८ मध्ये आठ खेल पोखरामा हुनेछ । कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ । बाँकी खेल काठमाडौं र ललितपुरमा हुने आयोजकले जनाएको छ । उद्घाटन काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा हुने भएपनि पोखरा रंगशालामा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।
साढे १९ हजार सुरक्षाकर्मी परिचालन
साग प्रतियोगिताभर साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ । पोखरा र जनकपुरमा प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र अनुसन्धानका कर्मचारी सुरक्षामा खटिनेछन् ।
नेपाल आउने खेलाडीका लागि काठमाडौंका विभिन्नस्तरका ५० भन्दा बढी होटल बुक गरिएको छ । स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र पाहुनालाई ती होटलमा राखिनेछ ।