एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो ।

उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मनु भएको थियो । उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनु भएको थियो । २०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नु भएको थियो ।

२०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नु भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close