
सुर्खेत, २४ फागुन – बराहताल गाउँपालिका-५ स्थित बडिचौरमा नवनिर्मित भवनको उद्घाटन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै शाहीले भवनको उपयोग जनताको सेवालाई छिटो र छरितो बनाउने एक महत्त्वपूर्ण कदम भएको र यसले स्थानीय सेवा प्रवाहलाई सहज बनाउने बताएका छन्।
नवीन भवनको निर्माण कार्यका लागि आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय सरकारबाट ५० प्रतिशत र स्थानीय तहबाट ५० प्रतिशत रकम समर्पित गरी जम्मा १ करोड ३० लाख विनियोजन गरिएको थियो। ठेक्का सम्झौता ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा २०७८ चैत १० गते गरिएको थियो, र पहिलो तला २०८० असार १० गते सम्पन्न भएको थियो। त्यसपछि, आर्थिक वर्ष २०८०/०८१ मा १ करोड विनियोजन गरी दोस्रो तला निर्माण गरिएको छ। यस अन्तर्गत ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भएको थियो, र २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिनुभयो। यस भवनको कुल लागत २ करोड ३० लाख रहेको छ। 
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, नगर सभापति टोपेन्द्र खड्का, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन र अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो।






