ठूलो परिमाणमा कस्तुरीको बिनासहित एक जना प्रहरी नियन्त्रणमा

ठूलो परिमाणमा कस्तुरीको बिनासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सदरमुकाम सिमकोटबाट विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले सिमकोट गाउँपालिका– ६ को बजार क्षेत्रमा बस्दै आएका कन्जोक तामाङलाई बिनासहित निजकै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले प्रहरीलाई प्राप्त सूचनाका आधारमा मंगलबार बेलुका खटिएको प्रहरीको विशेष टोलीले कस्तुरीका बिनाजस्तो देखिने पदार्थलाई बरामद गर्नुका साथै तामाङलाई नियन्त्रण गरिएकाे बताए।

बुधबार बिहान सो घटना सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो घटनाका बारेमा जानकारी दिएका थिए।

प्रहरी निरीक्षक नरेन्द्र चन्दाको नेतृत्वमा एघार जना प्रहरी यस मिसनमा खटिएका थिए। प्रहरीले बरामद गरेको अठारवटा बिनाको परिमाण ३४१ ग्राम रहेको छ। तामाङले बिना भारतको राजधानी दिल्लीबाट ल्याएको उपरीक्षक खनालले बताए।

तामाङले असार २७ गते भारतको दिल्लीबाट हिँडेर साउन १ गते सिमकोट आएकाे प्रहरीको बयानका क्रममा बताएको थिए।

सात लाख भारतीय रुपैयाँमा दिल्लीबाट तामाङले खरिद गरेर ल्याएको बताएका छन्।

तामाङले उक्त बिना चीनको पुराङ काउण्टीको ताक्लाकोटमा बिक्रीका लागि लैजान ल्याएको बताए।

ताक्लाकोटमा एक ग्राम बिना चालीसदेखि पैंतालीस हजार नेपालीमा बिक्री हुने गरेकाे खबर पाएकाे उपरीक्षक खनालले जानकारी दिए।

नाम्खा गाउँपालिका–२ केर्मी स्थायी घर भएका तामाङ हाल सदरमुकाम सिमकोटमा निर्माण गरिएको घरमा बस्दै गरेको अवस्थामा प्रहरीले तलासी गर्दा कस्तुरीको बिना भेटिएकाे थियाे।

प्रहरीले तामाङको घरबाट बिनासहित दुई थान मोबाइल, झोला, एटिएम, पासपोर्ट, नागरिकता, तराजुलगायतका वस्तु बरामद गरेको छ।

प्रहरीले प्रारम्भिक बयान लिएको र अब बिहीबार नै डिभिजन वन कार्यालयमा बुझाउने तयारी गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close