सुर्खेत,१३ फागुन । वीरेन्द्रनगर नगरपालिका–६ स्थित चेम्बर मार्ग -घण्टाघर सडक खण्ड समयमा नबनेको भन्दै सडक नबनेको भन्दै स्थानीय व्यापारीहरुले सडक बन्द गरेका छन् ।
बनाउन थालेको लामो समय भएपनि निर्माण कम्पनी र सरोकारवालाले निर्माण कार्यमा ढिलाई गर्दा आफुहरुले दैनिक धुलो धुवाँ खानुपर्ने र सामग्रीहरु समेत बिग्रने गरेपछि सडक नै बन्द गरेको स्थानीय व्यवसायी भुवन ज्ञवालीले बताए ।
‘४०प्रतिशत सामग्री धुलोले नष्ट भइसकेका छन्, कहिल्यै सडकले दुःख दिने कहिले विभिन्न बन्दले व्यवसायीलाई दुःख दिँदा हामी मारमा परेका छौं,’व्यवसायी ज्ञवालीले भने, ‘हामी अब यसको निष्कर्षमा नपुग्दासम्म हामी निरन्तर आन्दोलनमा रहन्छौं ।’
राजधानीको मुटुमा भएको सडकको अवस्था हेरेर यहाँका जनप्रतिनिधि पनि रमिते बनेर हेरेको अर्की व्यवसायी एकता सुवेदीले बताइन् ।
‘प्रदेशको राजधानीको मुटुमा रहेको यो सडकको दुरावस्था विगतदेखि नै यस्तै छ, हामीले जहिलेपनि सास्ती भोग्दै आएका छौं,’ सुवेदीले भनिन्, ‘मुख्यमन्त्री, मन्त्री, मेयर र अन्य जनप्रतिनिधि पनि यहि बाटो हिंडेर जान्छन्, तर सबै रमिते बनेर बसेका छन् ।’
यस्तै वीरेन्द्रनगर नगरपालिकाले भने चैत्र मसान्तसम्म काम सक्नुपर्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार पिके कन्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ ।
व्यवसायीलाई धुलो धुवाँले असर परेको अवस्थामा नगरपालिकाले पनि व्यवस्थापन गर्न लगाउने बताए ।
भिडियो हेर्न यहाँ क्लिक गनुहोला ;