सुर्खेतमा पहिलोपटक राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका सातवटै प्रदेशका टोलीहरूको सहभागिता रहनेछ ।

सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधारका रूपमा प्रतियोगिता सञ्चालन हुन लागेको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र पारिएको छ । प्रतियोगिता नजिकिँदै जाँदा घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित कर्णाली प्रदेशको छनोट टोली अहिले सुर्खेतमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ । खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सक्षम बनाउन विशेष प्रशिक्षण सञ्चालन गरिएको संघले जनाएको छ ।

भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा विस्तारै प्रगति गरिरहेको कर्णाली प्रदेशका लागि यो प्रतियोगिता ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । गत वर्ष कर्णालीले पहिलोपटक पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।

संघका सचिव केसीका अनुसार कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय क्रिकेट प्रतियोगिता भए पनि महिला क्रिकेटतर्फ भने पहिलो राष्ट्रिय प्रतियोगिता हो । आगामी महिला विश्वकप खेल्ने नेपाली टोली निर्माणको आधार तयार पार्ने महत्वपूर्ण प्रतियोगिताका रूपमा यसलाई हेरिएको आयोजकको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close