
वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको ११औँ कृति नियात्रा संग्रह “जहाँ छचल्किए भावना” काठमाडौंको पुतलीसडकमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ।
संस्ट्रा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, प्रतीक ढकाल तथा लेखक स्वयं आचार्यले कृतिको महत्वबारे धारणा राख्नुभएको थियो। कृतिमाथि प्रा.डा. भरत कुमार भट्टराईले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै यसलाई भावनात्मक र अनुभवप्रधान नियात्रा कृति भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा कृष्ण प्रसाईं, उमेश कुमार ओझा, शंकर भारती लगायतका प्रतिष्ठित साहित्यकारहरूको उपस्थिति रहेको थियो। प्रकाशक रमिला आचार्य रहेको उक्त कृतिको लोकार्पण कार्यक्रममा साहित्यिक व्यक्तित्वहरूसँगै लेखकका पारिवारिक सदस्य तथा गर्गगोत्री आचार्य बन्धुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
वि.सं. २०१९ पुस ११ गते हेटौंडाको सानोपोखरामा जन्मनुभएका आचार्यका यसअघि “प्रथम नेपाली महिला”, “गर्गगोत्री आचार्य वंशावली”, “मनको ओखती” लगायत १० कृतिहरू प्रकाशित भइसकेका छन्। उहाँ गोरखापत्र पत्रकारिता पुरस्कार २०५९ र मातृभूमि साहित्य सम्मान २०६५ सहित दर्जनौँ पुरस्कारबाट सम्मानित हुनुहुन्छ।
कार्यक्रम मधुपर्कका सम्पादक तुल्सीहरि कोइरालाले सञ्चालन गर्नुभएको थियो।






